ताप्लेजुङ/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बतसँग जोडिएको ओलाङ्चुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताएका छन् ।
ताप्लेजुङको उत्तरी सीमा क्षेत्रको सुरक्षालगायतको अवस्थाबारे अवलोकन गर्न शुक्रबार ताप्लेजुङ आएका मुख्यमन्त्री राईले प्रदेश १ को समृद्धिसँग जोडिएकाले सरकार सञ्चालनका लागि प्रयासरत रहेको बताए । नाका खोल्नका लागि आवश्यक सडक निर्माणलगायतका भौतिक पूर्वाधार विकासका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँगसमेत समन्वय गरिरहेको बताए ।
यस्तै पछिल्लो समयमा सीमा सुरक्षाका सम्बन्धमा धेरै टिकाटिप्पणी आएकाले यहाँको सुरक्षाबारे समेत अध्ययन भइरहेको उनले बताए । ओलाङचुङगोलाको प्रहरी चौकीलाई स्तरोन्नति गर्ने र वोर्डर आउट पोष्ट (विओपी) स्थापनाका लागि तयारी भइरहेको उनले बताए ।
केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मुख्यमन्त्री राईविरुद्ध यौन दुव्र्यहारसम्मका आरोप भाइरल बनेका छन् । राईले गलत प्रचार गरेर राजनीतिक जीवन समाप्त पार्ने शक्ति को हो भनेर खुलाउन चाहेननन् ।
यसअघिको प्रदेशसभाको बैठकमा प्रदेशको स्थायी राजधानी र नाम हिउँदे अधिवेशनबाट टुङ्ग्याउने सहमति बनेकाले अधिवेशनले नाम र राजधानी टुङ्ग्याउने बताए ।