इटहरी/ दुई मुस्लिम अगुवाको हत्यापछि सुनसरी क्षेत्रमा प्रहरीले उच्च निगरानी बढाएको छ । यही निगरानीका क्रममा आइतबार राति सीमाबाट प्रवेश गर्ने क्रममा जाँच गर्दा एक भारतीय नागरिकको मुठभेडका क्रममा मारिएका छन् ।
दुई मुस्लिम अगुवा खुर्सिद आलम अन्सारी र फिदा हुसेन हत्याका आरोपितहरू अहिले पनि पक्राउ पर्न सकेका छैनन् । त्यसो त, प्रहरीले यही घटनाबीचमा चार भारतीय र एक नेपाली नागरिकको साथबाट तीन थान कटुवा पेस्ताल र गोली बरामद गरेको थियो ।
असोज ४ गते हरिनगर–२ भुटाहाका खुर्सिदको हत्या भएको थियो भने मंसिर ३ गते दुहबीका व्यवसायी फिदा हुसेनको हत्या भएको थियो । यी दुई हत्यापछि सुनसरी थप असुरक्षित बनेको थियो । यहीबीचमा प्रहरीले आइतबार राति प्रहरीले गतिलो उपलब्धी हात पारेको छ ।
प्रहरीले चेकजाँचका क्रममा फायर गरेपछि जवाफी कारबाहीमा पहिचान नखुेलेका एक भारतीय नागरिकलाई मार्न सफल भएको छ । उसको साथबाट प्रहरीले कटुवा पेस्तोलसहित त्यसमा प्रयोग हुने ५ थान गोली बरामद गरेको छ ।
खुर्सिद र फिदा हत्या भए सँगै नयाँ सुरक्षा रणनीति अघि सारिएको सुनसरीका एसपी राजन अधिकारीले बताए । खुल्ला सिमाना धेरै भएको कारण पनि सुरक्षा थ्रेट बढेको प्रहरी नै बताउँछ । प्रदेश एकको १४ जिल्लामध्ये सबैभन्दा बढी हत्या, लुटपाट, चोरी, बलात्कारजस्ता जघन्य अपराध हुने जिल्ला सुनसरी रहेको प्रतिवेदनले देखाएको छ ।
सुरक्षाका दृष्टिले पनि सुनसरी अति संवेदनशील जिल्लामा सूचिकृत छ । सुनसरी सीमावर्ती क्षेत्रमा ६६ किलोमिटर सीमा क्षेत्र छ ।
सीमा सुरक्षाका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरीका ९ वटा बोर्डर आउट पोष्टहरु स्थापना गरिएको छ । जिल्लाको भाण्टावारी, जमुवा, लौकही, घुस्की, बसन्तपुर, कप्तानगञ्ज, रामनगर भुटाहा, अमडुवा र साहेबगञ्जमा बोर्डर आउट पोष्टहरु छन ।
तर प्रहरीको उपस्थिति भने दयनीय छ । जिल्लामा ४१ वटा युनिट रहेकोमा जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरी चौकीसम्म कतै पनि प्रयाप्त जनशक्ति देखिदैन ।
पहिला थोरै जनसंख्या हुदा जति दरबन्दी कायम गरिएको थियो अहिले पनि त्यही अवस्थामा रहेको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बताए । ९ सय ४९ जना प्रहरीको रदबन्दी रहेको सुनसरीमा एक जना प्रहरीले ८ सय ३० जनाको सुरक्षा गर्नुपर्ने जिम्मोवरी छ ।
हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले सिमा क्षेत्रमा दिनदहडै गोली चल्न र मुस्लिम अगुवाहरुको हत्या हुन थालेको भन्दै सुरक्षा कमजोर भईरहेको बताए । यता सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले सुनसरीको सुरक्षा अवस्था कमजोर नभएको दाबी गरे । सुनसरीको सिमावर्ती क्षेत्रमा अहिले विशेष सुरक्षा योजना लागु गरेको बताए ।