तेह्रथुम/आठराई गाउपालिका-१ साविक सक्रान्ती-९ पुरानागाँउ निवासी सानुमाया नेपाली उमेरले ५५ वर्ष पुगिन् । उनी आफ्नै घर नजिकैको पुराना गाँउ आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् ।
सानुमाया अन्य विद्यार्थीहरु भन्दा अगाडी नै विद्यालय आईपुग्छिन् । उनको दैनिकी बिहान बेलुका खाना बनाउनु र विद्यालय जानु मात्र हो ।
घरका अन्य कामहरु उनका श्रीमानले नै गर्ने गरेका छन् । उनलाई बाल्यकाल देखि नै विद्यालय जान खुब रहर थियो तर उनका बुबाआमाले विद्यालय नपठाएपछि उनको चाहाना पुरा हुन सकेको थिएन । आफु सानो छदा पढ्ने ईच्छा हुदाहुदै पनि विद्यालय जान नपाएकी नेपालीलाई यो वृद्धावस्थामा भने बल्ल पढ्ने फुर्सद मिलेको छ।
चार छोरा , दुई नाति र श्रीमान गरि ८ जनाको परिवार रहेको सानुमाया विद्यालय आउनु भन्दा अगाडी निरक्षर थिईन् । छोराहरु र श्रीमानको सल्लाह बमोजिम उनी विद्यालय आउन थालेपछी आफ्नो नाम मात्र नभएर सबै साथी र परिवारको नाम समेत अंग्रेजीमा लेख्न सक्ने भएकी छिन् ।
२०७२ सालमा कक्षा एकमा भर्ना हुन आएकी उनी तेस्रो कक्षासम्म आईपुग्दा कक्षाको सबैभन्दा उत्कृष्ट र नियमित विद्यार्थी भएकी छिन् । पढाईप्रति उनीसँग सानो उमेरका अन्य विद्यार्थीहरु भन्दा बढि उत्साह, जोश र जाँगर रहेको विद्यालयकी शिक्षिका बिमला गौतमले बताईन् ।
विद्यालय समय भरी पढिरहने उनी प्रायः किताव नै हेरिहन्छिन् । टिफिन समयमा अन्य विद्यार्थीहरु खाजा खान तथा खेल्न जान्छन् तर त्यो समयमा सानुमाया शिक्षकहरुले पढाईसकेको पाठ घोक्ने गर्छिन् ।
प्रत्येक वर्षको परीक्षामा सर्बोउत्कष्ट अंक ल्याउने नेपालीले विद्यालयको तर्फबाट धेरै पटक पुरस्कार पाएकी छिन् । पढाई प्रति लगनसिल तथा आफु भन्दा बढि उमेरको विद्यार्थीलाई पढाउन पाएकोमा आफुलाई निकै खुशी लागेको विद्यालयका प्रध्यानापक हरिप्रसाद आचार्यले सुनाए ।
दलित समुदायको बाहुल्यता रहेको पुरानागाँउ बस्तीमा अधिकांश पौढ महिलाहरु निरक्षर छन् । अन्य महिलाहरु सानुमाया जस्तै पढ्न चाहे पनि घर व्यावहार तथा बिपन्नताका कारण कामधन्दाले विद्यालय जान सकेका छैनन् ।
https://youtu.be/AOzBH_kjSनिरक्षर जति सबै विद्यालय आउने हो भने ५० वर्ष देखी माथिका व्यक्ति दर्जन बढि हुने विद्यालयको भनाई छ । विद्यालयमै भर्ना भएर कक्षा १ देखि नियमित रुपमा विद्यालय जाने सानुमाया नेपाली जिल्ला कै जेष्ठ विद्यार्थी भएको शिक्षा समन्वय ईकाई समिति तेह्रथुमका प्रमुख लिलानाथ पोख्रेलले बताए ।
आठराई गाउँपालिका भरीमा ६० वटा सामुदायिक विद्यालयमा सञ्चालनम छन् जस मध्ये यो विद्यालय नमुना तथा पुर्ण सरसफाईयुक्त घोषित विद्यालय पनि हो । विद्यार्थी संख्या एक सय मात्र रहेको यस बिद्यालयमा कक्षा-५ सम्म पढाई हुने गरेको छ ।
<