इनरुवा/इनरुवा नगरपालिकाले नगर क्षेत्रभित्रका निजी तथा संस्थागत विद्यालयहरूको अनुगमन तीव्र बनाउने भएको छ ।
इनरुवा नगरपालिकाका मेयर राजन मेहताले संस्थागत विद्यालयहरूलाई जवाफदेही, जिम्मेवार र शैक्षिक गुणस्तर कायम गराउनका लागि अनुगमन र मापदण्डमा कडाइ गरिने भएको जनाए । संस्थागत विद्यालयहरूसँग सामूहिक रूपमा भएको छलफल र नगर शिक्षा समन्वय शाखासँग भएको बैठकको निर्णयअनुसार इनरुवाभित्र सञ्चालित विद्यालयले पहेँलो रङ्गको मात्र सवारीसाधन प्रयोग गर्न पाउँने छन् ।
पुराना र थोत्रा सवारीसाधन सञ्चालन गर्न नपाइने, दक्ष सवारी चालकको व्यवस्था गरिनुपर्ने, शहरीबजार क्षेत्रमा गति सीमित गरेर मात्र सवारी चलाउनुपर्ने जस्ता मापदण्ड बनाइएको नगरप्रमुख मेहताले बताए ।
संस्थागत विद्यालयले प्रयोग गरेको पाठ्यक्रम नेपाल सरकारले तोकेको पाठ्यक्रमको परिधिभित्र रहनुपर्ने र थप पाठ्यपुस्तक प्रयोग गर्दा विद्यार्थीको उमेर अनुसारको बोझिलो र झन्झट हुने गरी किताबको भारी बोकाउन नपाइने भएको छ ।