झापा/ पूर्व जनमुक्ति सेना नेपालले चैत मसान्तसम्म प्रदेश नं. १ का १४ वटै जिल्लासहित प्रदेशको भेला सम्पन्न गर्ने भएको छ ।  झापाको बिर्तामोडमा शनिबार भेला आयोजक समितिको भेलापछि आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं. १ का भेला आयोजक समितिका संयोजकले एकसय ५१ जना भेला आयोजक समिति निर्माण गरेको बताए ।

उनले १८ वटै जिल्लाबाट ५/५को प्रतिनिधित्व गराएर ५१ जनाको भेला सचिवालय समिति समेत गठन भएको बताए ।

पूर्व जनमुक्ति सेना संघ, पूर्व जनमुक्ति सेना प्रतिस्ठान र पूर्व जनमुक्ति सेना पार्टी दर्ता रहेर निश्चित व्यक्तिले मात्र सेवासुविधा लिइरहेको उनको भनाई थियो । विभिन्न विभाजित जनमुक्तिका संघ/संगठनलाई एक गर्ने उदेश्यले भेलाको आजोजना गरिएको आयोजक समिति सचिवालय सदस्य सन्सार राईले बताए ।  ‘जनमुक्ति सेना गणतन्त्र योद्धा हुन’, राईले भने ‘उनीहरुलाई राज्यले नै प्रमाणपत्र उपलब्ध गराउनु पर्छ ।’

आयोजक सचिवालय सदस्य अर्जुन गहतराले जनमुक्ति सेनालाई शिक्षा दिक्षा र पालनपोषणको पनि आवाज उठाइरहेको बताए । ‘हामी राज्य निर्माणकै क्रममा छौ’ गहतजराले भने ‘सेनाको स्वास्थ्य, शिक्षा र रोजगारको ग्यारेन्टी गर्दै उनीहरुको सीपको सदुपयोग राज्यले गर्नुपर्छ ।’ उनले देशभर ३२ हजार र प्रदेश नं. १ मा ४ हजार जनमुक्ति सेना रहेको बताएका छन् ।

कार्यक्रममा सचिवालय सदस्य कुशल राईको समेत उपस्थिति रहेको थियो ।