झापा/झापाको बिर्तामोडस्थित चारपानेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले व्यवसायिक बाख्रापालक सदस्यलाई घाँसको बिउ निःशुल्क प्रदान गरेको छ ।

संस्थाले लक्ष्मीपुर सेवा केन्द्रमार्फत शनिवार ३५ जना बाख्रापालक कृषकलाई २ केजीका दरले ‘टियोसेन्टी’ बिउ दिएको हो । संस्थाको १० वटाभन्दा बढि माउ बाख्रापालक कृषकलाई मात्र बिउ दिने उदेश्य अनुसार बिउ उपलब्ध गराएको संस्थाका लक्ष्मीपुर प्रमुख उमेश भारतीले कार्यक्रमको उदेश्यमा माथि प्रकाश पार्दै जानकारी दिए । ‘१० वटा माउ बाख्रा पाल्न ६ कठ्ठा चाहिन्छ’ प्रमुख भारतीले भने ‘हामीले ३ कठ्ठाका लागि मात्र बिउ दिएका छौ ।’

अरू ३ कठ्ठा लागि आफै घाँसको बिउ खरिद गर्नुपर्ने उनले बताए । त्यसै गरी संस्थाको लक्ष्मीपुर सेवा केन्द्रबाट ६५ जनालाई अर्गानिक बेमौसमी तरकारी उत्पादनका लागि टनेल, प्लाष्ट्रिक, बाँस, बिउ बिरुवा उपलब्ध गराउने उनले बताए ।

वर्षायाममा कसरी घाँस उत्पादन गर्ने, बाख्रामा लाग्ने रोग र रोकथामका विषयमा संस्थाका पशु चिकित्सक कमलेश्वर भाटले जानकारी दिए । उनले संस्थाले झापाका २० वटा सेवा केन्द्रमार्फत करिब ४ सयजनालाई सुडान २ सय केजी र टियोसेन्टी ६ सय केजी गरी ८ सय केजी घाँसको बिउ निःशुल्क दिने कार्यक्रम तय गरेको बताए ।
लक्ष्मीपुर सेवा केन्द्रले लकडाउन अघि ३५ जनालाई बाख्रापालन सम्बन्धी तालिम समेत दिइसकेको कर्मचारी खगेन्द्र निरौलाले बताए ।

लक्ष्मीपुर सेवा केन्द्र सहयोग समिति सदस्य टोमकुमारी ओझाको अध्यक्षतामा भएको कार्यक्रमलाई संस्थाका कृषि प्राविधिक लक्ष्मी भण्डारीले सञ्चालन गरेका थिए ।