विराटनगर /  प्रहरी जवान १३७ औं समूहको आधारभूत तालिम लिएका ८ सय २१ जना प्रहरी जवान सोमबार दीक्षित बनेका छन् । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा उनीहरूलाई दीक्षित गराइएको हो ।

तालिम केन्द्र रानी विराटनगरमा ५ सय ८७, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण रानीमा १ सय ३९ जना र दङ्गा नियन्त्रण प्रहरी गण दुहबीमा ९८ जना प्रहरी जवान दीक्षित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दीक्षित हुनेमा ९८ जना महिला र बाँकी सबै पुरुष छन् । २०७६ साउन २० गतेदेखि सञ्चालित प्रहरी जवान १ सय ३७ औं समूहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम दिइएको थियो । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्कीको प्रमुख आतिथ्यमा दीक्षित गराइएको हो ।

दीक्षितहरूलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका समादेशक टेकबहादुर तामाङले शपथ ग्रहण गराए । डिआइजी कार्कीले दीक्षित प्रहरी जवानहरूलाई कार्यक्षेत्रमा मन, वचन र कर्मले निष्ठापूर्वक र बफादारी भई जनताको सेवामा खटिन निर्देशन दिए । सोही कार्यक्रममा डिआइजी कार्कीले तालिम केन्द्रबाट प्रकाशित प्रहरी जवान स्मारिका २०७७ पनि लोकार्पण गरे । तालिम अवधिभर लिइएको चरणगत परीक्षाको प्राप्ताङ्कका आधारमा प्रथम बनेका प्रहरी जवान विजयसिंह कार्कीलगायत विभिन्न १० विधामा उत्कृष्ट भएकालाई पुरस्कृत गरियो । पुरस्कृत भएका प्रहरी जवानहरूलाई डिआइजी कार्कीले प्रमाण–पत्र तथा नगद पुरस्कारसहित पुरस्कृत गरेका थिए । तालिम केन्द्रका समादेशक तामाङले दीक्षित हुने प्रहरी जवानहरूले तालिममा सिकेका कुरालाई कार्य क्षेत्रमा अक्षरश पालना गरे अपराध अनुसन्धानमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।