• सिंह चाम्लिङ राई

उदयपुर अवैध रूपमा खोला उत्खनन् गरी सङ्कलन गरिएको भारी परिमाणमा ढुङ्गा बरामद गरिएको छ । उदयपुरको बलान खोलाबाट उत्खनन् गरी भण्डारण गरिएको ढुङ्गा बरामद गर्न सफल भएको हो ।

उदयपुरगढी गाउँपालिका–७ कोल्टेको बलान खोलाबाट उत्खनन् गरिएको करिब २ हजार ८ सय ४८ घनमिटर बराबरको ढुङ्गा बरामद गरिएको प्रहरीले जनाएको छ । प्राकृतिक स्रोत दोहन गरी चोरीनिकासी गर्नेहरूलाई नियन्त्रण तथा कारबाही गर्ने अभियानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले भण्डारण गरेको ढुङ्गा नियन्त्रणमा लिएको हो ।

ढुङ्गा चोरी निकासी गर्ने समूहले उत्खनन् गरी खोला किनार र गाउँमा सङ्कलन गरेर राखेको अवस्थामा बरामद गरिएको जिप्रका उदयपुरका प्रमुख एसपी भीमबहादुर दाहालले बताए । तर, कसले र कहिलेबाट सङ्कलन गरी भण्डारण गरेको हो भन्ने हालसम्म खुल्न सकेको छैन । भण्डारण गरिएको ढुङ्गाको जिल्लास्तरीय अनुगमन समितिले स्थलगत अनुगमन गरी नापजाँच तथा सिल गरेको एसपी दाहालले जानकारी दिए । उनका अनुसार भण्डारण गरिएको ढुङ्गा स्थानीय मूल्य अनुसार करिब ४० लाख बराबरको रहेको छ ।

स्थानीय तहबाट बिना टेण्डर तथा बिना स्वीकृति जेसिभी र टिपरसमेत प्रयोग गरी ढुङ्गा चोरी निकासी गर्ने गरेको स्थानीयले बताए । अवैध काममा स्थानीय ट्याक्टर व्यवसायी र स्थानीय राजश्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षको संलग्नता रहेको स्थानीयको आरोप छ । खोला दोहनले सिंचाइका लागि सप्तरी लगिएका नहरको मुहान जीर्ण बनेको स्थानीयले बताए । खोला दोहनले स्थानीयको जग्गाजमिन खोलाले कटान गरेको छ भने बस्ती नै जोखिममा परेको छ । पछिल्लो समयमा आएर खोला अस्वभाविक रूपले गहिरिएको छ ।

ठूलो मात्रामा प्राकृतिक दोहन भएको सूचना प्राप्त भएपछि उक्त क्षेत्रमा एक सातायता प्रहरीको सक्रियता बढेको थियो । तीन दिनअघि त्यहाँ प्रयोग भएका सातवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । चोरी निकासी तथा दोहनमा संलग्न स.१ त ४९८२, स.१ त ४७११, स.१ त ६९९४, स.१ त ७४००, स.१ त ५०२७, स.१ त ७००९ र एक अनटेस्ट ट्याक्टर गरी सातवटा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अनुगमन टोलीमा रहेका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूले कसैले धम्क्याएमा तुरुन्त खबर गर्न स्थानीयवासीलाई आग्रह गरेको छ । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारको नेतृत्वमा गएको अनुगमन टोलीले वडाध्यक्षको संयोजकत्वमा निगरानी समिति बनाएको छ ।

बरामदपछि सिल गरिएको ठूलो मात्राको ढुङ्गाको संरक्षण र सदुपयोगका लागि लागिपर्ने जिल्ला समन्वय प्रमुख परियारले बताए । बरामद भएको ढुङ्गाको संरक्षण र कारबाहीमा कडाइका साथ लाग्ने गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए । उनले सुरक्षा निकाय र प्रशासनको सहयोग लिएर बरामद ढुङ्गाको संरक्षण र सदुपयोग गर्ने बताए ।