मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका–७ मा निर्माणाधीन आधारभूत स्वास्थ्य केन्द्र डिजाइन विपरीत काम गरेको पाइएको छ ।
ठेकेदार कम्पनीले डिजाइन भन्दा फरक तरिकाले निर्माण गरेर नीतिगत भ्रष्टाचार गर्ने तयारी गरिरहेको पाइएपछि सम्पूर्ण संरचना भत्काउन लगाइएको छ । मिक्लाजुङ–७ बालाटुङमा ४ कोठे स्वास्थ्य केन्द्र निर्माण भइरहेको थियो ।
डिजाइन एक खालको तयार गरिए पनि अर्कै तरिकाले निर्माण गरेको पाइएपछि सम्पूर्ण संरचना भत्काउन लगाइएको वडाध्यक्ष सुशीलराज चौहानले बताए । स्थलगत निरीक्षण गर्दा प्राविधिक स्टिमेटभन्दा फरक तरिकाले निर्माण भएको पाइएपछि संरचना भत्काई पुनः निर्माण गर्न लगाएको वडाध्यक्ष चौहानले बताए । उनले गुणस्तरमा कुनै सम्झौता नहुने पनि बताए ।
निर्माण भएको संरचनामा मापदण्ड विपरीत रडहरू प्रयोग गरेको साथै पिल्लरको गहिराइ ५.५ फिट हुनुपर्नेमा ३ फिट मात्र भएको स्थलगत निरीक्षणमा भेटिएको मिक्लाजुङ गाउँपालिका–७ का सव–इञ्जिनियर विवेक कार्कीले बताए । भवन निर्माणको जिम्मा जन्मभूमि निर्माण सेवा नुवाकोटले पाएको थियो । भवनको कुल लागत ३२ लाख ६३ हजार एक सय ४१ रुपैयाँ रहेको थियो ।
जन्मभूमि निर्माण सेवाका प्रतिनिधि धीरेन कटुवालले कम्पनीले मापदण्ड विपरीत काम नगरेको बताए । आफूहरूले नाप जाँच गरी मिस्त्रीहरूलाई जिम्मा दिएकोमा कामदारहरूले केही कमी कमजोरी गरेको पाइएकाले त्यसलाई नष्ट गरी नयाँ निर्माण गर्ने कटुवालको दाबी थियो । उनले काम गर्ने स्थलमा अत्यधिक पानी भएकाले काम गर्न केही असहज भएको कटुवालको भनाइ छ ।