धनकुटा । तेह्रथुम र धनकुटाको सीमामा रहेको चित्रेमा स्थापित प्रहरी बिटले नगरवासीलाई सास्ती दिएको महालक्ष्मी नगरपालिका धनकुटाले गुनासो गरेको छ ।
बिहीबार धनकुटाको महालक्ष्मी नगरपालिकाले जिल्ला सदरमुकाम धनकुटा बजारमा पत्रकार सम्मेलन गरेर आफ्नो नगरको वडा नं. १, २, ३, ४ र ८ का वडावासीलाई जितपुर बजार आउँदा–जाँदा दुःख दिएको जनाइएको छ । प्रहरी बिट तेह्रथुममा परे पनि सडक धनकुटा जिल्लामा पर्ने नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख पर्शुराम नेपालले वडावासीलाई बिना कारण प्रहरी बिटले दुःख दिएको आरोप लगाए । उनले आफ्नो वडावासी नगरपालिकाको मुकाम जितपुर बजारमा सेवा लिन आउँदा–जाँदा प्रहरीले बाधा अवरोध पुर्याई चित्रेमा ४–५ घण्टासम्म रोकेको बताए ।
उनले आफ्ना वडावासीलाई चित्रे प्रहरी पोष्टमा कार्यरत प्रहरी अधिकृत र जवानहरूले अभद्र व्यवहार गरेकोप्रति जिल्ला प्रशासन कार्यालय तेह्रथुम र जिल्ला प्रहरी कार्यालय तेह्रथुमलाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनले बताए ।
साउन ७ गते महालक्ष्मी–३ का दिवङ्गत बखतबहादुर थापाको परिवारलाई समवेदना दिएर फर्कने क्रममा बिटका प्रहरीले अभद्र व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले प्रदेश सांसद्, नगरप्रमुख, उपप्रमुख, अन्य नेता तथा कार्यकर्ताहरूमाथि अभद्र व्यवहार गरेर चरित्र हत्या गर्ने मनसायले कार्य गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा उप(प्रमुख मञ्जु अधिकारी, १ नम्बर वडाका वडाध्यक्ष टेकबहादुर गुरुङ, २ का वडाध्यक्ष ध्रुव रायमाझी, ३ का वडाध्यक्ष भरत थापा, ४ का वडाध्यक्ष यज्ञबहादुर चापागाईं र ८ का वडाध्यक्ष रामबहादुर खड्का उपस्थित थिए ।
सो विषयमा तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले प्रहरीले त्यस्तो दुःख नदिएको प्रष्ट्याए । ‘महालक्ष्मी नगरपालिकाका केही वडाका जनतालाई असहजता भएको हामीले पनि स्वीकारेका छौं’ उनले भने, ‘शान्ति सुरक्षासँगै कोभिडको कारणले चेकजाँचमा केही कडाइ भयो होला, जसले गर्दा केही समस्या सिर्जना भए होलान् तर त्यो समस्या हल भइसकेको छ ।’
प्रजिअ न्यौपानेले श्रावण १६ गतेदेखि धनकुटा जिल्लाभित्र आवत–जावत गर्ने र विशेष गरेर महालक्ष्मी न.पा.को वडा नं. १, २, ३, ४ र ८ का जनतालाई अरू जिल्लाको सँग नमिसाई छुट्टै लाइनमा राखेर छाड्ने व्यवस्था मिलाएको बताए । उनले चेकजाँचको क्रममा गाडी लाइन एउटै हुँदा र सोधपुछ गर्दा समय लागेको हुनसक्ने बताए ।