- सन्देश किराती
भोजपुर / होम्ताङ सेवा समाज काठमाडौले जिल्लाको हतुवागढी गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । समाजको पहलमा खरिद गरिएको एम्बुलेन्स हिजो गाउँपालिकालाई औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।
भूतपूर्ब सांसद तथा समाजका संरक्षक धनहर्क राईले गाउँपालिका अध्यक्ष प्रेमकुमार राईलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेको समाजका अध्यक्ष रिमाल राईले बताए । चावी हस्तान्तरण गर्दै संरक्षक राईले गाउँमा बिरामी भएका जनतालाई उपचारका लागि अस्पतालसम्म पुर्याउन सहयोग होस भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको जानकारी दिए । उनले भने–‘बिरामीलाई गाउँबाट उपचारका लागि शहरका अस्पताल लैजान अब सहज भएको छ, अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता पनि कम हुनेमा हामी विश्वस्त छौ । अर्को तिर अरु अन्य सवारी साधनमा भन्दा एम्बुलेन्समा भाडा समेत कम हुने भएकाले गाउँका जनतालाई आर्थिक भार पनि हुन्छ ।’
एम्बुलेन्स सेवाका लागि पक्की बाटोमा प्रति किलोमिटर १०० रुपैंंया र कच्ची बाटोमा प्रति किलोमिटर १ सय ५० रुपैँयाको दरले भाडा निर्धारण गरिएको छ । हतुवागढी गाउँपालिका वडा नम्बर ५ र ६ का बासिन्दालाई भने एम्बुलेन्स प्रयोग गर्दा तोकिएको भाडामा २५ प्रतिशत छुट दिने निर्णय भएको समाजका अध्यक्ष राईले बताए । एम्बुलेन्स सञ्चालनमा आए पछि हतुवाढी गाउँपालिकासंगै आमचोक गाउपालिका , रामप्रसादराई गाउपालिका र खोटाङको जन्तेढुंगा गाउँपालिकाका जनता लाभाम्वित हुने गाउँपालिकाले जनाएको छ ।