विराटनगर / मोरङमा ४८ जना सहित प्रदेश १ मा ६१ जना नयाँ संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार ४७ जना पुरूष र १४ जना महिलासहित प्रदेश १ मा शनिबार ६१ जना संक्रमित थपिएका हुन् ।
विराटनगर महानगरपालिका भित्र मात्र शनिबार ३३ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित मध्ये २६ पुरूष र ७ महिला रहेका छन् । मोरङको बुढीगंगाउँपालिका भित्र रहेको आरती स्ट्रिप्स् स्ट्रिप्स् इण्डस्ट्रिज प्रालिमा कार्यरत थप १२ जना कोरोना संक्रमण देखिएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा गरिएको परीक्षण रिपोट अनुसार शनिबार कर्मचारी र मजदुरहरूमा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबै पुरूष कर्मचारी र मजदुर हुन् । ८० जनाको स्वाब संकलन गरिएको मध्ये पछिल्लो पटक १२ जनामा कोरोना रिपोट पोजेटिभ आएको छ ।
यसअघि १० जना कर्मचारीमा कारोना संक्रमण पुष्टि भएको आरती स्ट्रिप्सका जनसम्पर्क अधिकृत दिवश नेपालले बताए । यसैगरि मोरङको धनपालथान, कटहरी र उर्लाबारीमा १/१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उता सुनसरीमा १० जना संक्रमण पुष्टि भएको छ ।
सुनसरीको धरानमा २ पुरूष र २ महिला, दुहबीमा ३ पुरुष र १ महिलामा संक्रमण देखिएको छ । इनरुवामा २ पुरुषमा संक्रमण पुष्टि भएको छ । मोहतरी ठेगना उल्लेख गरिएको २ र राजविराजको ठेगना राखिएको १ पुरूषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।