विजयपुर/ नातिनीलाई नागरिकता दिलाउने विषयमा प्रहरीले इटहरी–३ का एक परिवारलाई गरेको धरपकडलाई लिएर परिवारले आपत्ति जनाएको छ ।

धरपकडपश्चात् नागरिकता प्राप्तिका लागि सिफारिसमा जबर्जस्ती सनाखत गराएकै कारण आफ्नो बुबाको ब्रेन ह्यामरेज भएको छोरा किरण निङ्लेकु लिम्बूले बताए । छोरा किरणका अनुसार सोही कारण बुबा लालबहादुर लिम्बूको ब्रेन ह्यामरेज भएपछि हाल विराटनगर नर्सिङ होममा उपचाररत छन् । लिम्बूका छोरा राजेश लिम्बूको छोरी निमसाङलाई नागरिकता दिलाउने विषयमा लालबहादुरलाई प्रहरीले कात्तिक २२ गते पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सुनसरीमा उपस्थित गराएको थियो ।

निमसाङको बुबा राजेश र शीला सुब्बाबीच २०७३ सालमा सम्बन्धविच्छेद भइसकेको छ । निमसाङ हाल मावली घरमा बसेर पढ्दै आएकी थिइन् भने उनले नागरिकता बनाउनका लागि घरपट्टिका हजुरबुबा लालबहादुरलाई भनेकी थिइन् तर, नागरिकता बनाइदिनका लागि आनाकानी गरेपछि बाध्य भएर प्रशासन जानुपरेको निमसाङले बताइन् । ‘मलाई ब्ल्याङ्क पेपरमा हस्ताक्षर गराउन खोज्नुभयो, त्यो मैले मानिनँ, त्यसपछि नागरिकता पाउने आधार खोज्दै जाँदा जिल्ला प्रशासनले दिएको सुझावअनुसार प्रहरीमा उजुरी दिएको हुँ’–उनले भनिन् ।

उनका अनुसार हजुरबाले ‘ब्ल्याङ्क पेपर’ मा हस्ताक्षर गरेपछि मात्रै नागरिकता दिने भनेपछि निमसाङ नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय सुनसरी पुगेको बताइन् । उनले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कात्तिक १७ गते उजुरी दिइन् । कात्तिक २२ गते हजुरबुबा लालबहादुर लिम्बूलाई प्रहरीले पक्राउ ग¥यो । निमसाङका काका किरण लिम्बू आफ्ना बुबा लालबहादुरले नातिनीलाई नागरिकता दिनकै लागि वडा कार्यालयबाट सिफारिससमेत लिएकाले नागरिकता नदिने भन्ने पक्षमा आफूहरू नरहेको बताए ।

उनका अनुसार नागरिकता दिने भनिरहँदा नै प्रहरीले आफ्नो बुबालाई जुन शैलीमा पक्राउ गरी लग्यो र जबर्जस्ती सनाखत गरायो, त्यसका कारण ब्रेन ह्यामरेज भयो । उनले अहिलेसम्म प्रहरीकहाँ जानु नपरेको बुबालाई एक्कासि पक्राउ गरेपछि मानसिक असर परेको हुनसक्ने बताए । उनले भने, ‘आफै नागरिकता दिन लागेका थियौँ । प्रहरीले धरपकड गरी जबरजस्ती हस्ताक्षर गर्न लगाएकाले ब्रेन ह्यामरेज भयो ।’

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जय सिंह थापाले जिल्ला प्रशासन कार्यालय सुनसरीले उपस्थित गराउन कात्तिक १७ गते पत्राचार गरेकाले कात्तिक २२ गते उपस्थित गराएको दाबी गरे । उनले पक्राउ नगरी एक जना प्रहरीको साथमा उपस्थित गराएको बताए ।

उनले भने, ‘ज्यान मारेको होइन, ठूलो घटना पनि होइन । किन जबरजस्ती पक्राउ गर्नु ?’ उनले थपे, ‘प्रहरीको यातनाका कारणले ब्रेन ह्यामरेज भयो भन्ने कुरा मेडिकल्ली कति प्रमाणित हुन्छ ?’ यस विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख इन्द्रदेव यादवलाई बुझ्दा बाहिर रहेकाले कार्यालयीय कुराबारे आफूलाई पनि बुझ्न समय लाग्ने बताए । ‘पत्राचार गरी उपस्थित गराइयो होला, तर कार्यालयको कुरा भएकाले अहिले यसै भन्न सकिएन’–उनले भने ।