धरान । विदेशी दातृ संस्थाले निःशुल्क दिएका सामग्रीसमेत बिरामीलाई बेच्ने गरेको सार्वजनिक भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाडजोर्नी विभागका कन्सल्टेन्ट अर्थोपेडिक सर्जन तथा एसोसिएट प्रोफेसर डा.रोशन कलवारलाई स्पष्टीकरण सोध्दै पत्र पठाएको छ ।

अमेरिकाको साइन फ्र्याक्चर केयर इन्टरनेशनलले सन् २००५ देखि नै प्रतिष्ठानलाई हड्डी जोड्ने रड (साइन नेल) निःशुल्क उपलब्ध गराउँदै आएको छ । उक्त रड बिरामीलाई निःशुल्क उपलब्ध गराउनु पर्नेमा डा.कलवारले आफू संलग्न मेडिकलबाट बिक्री गर्ने गरेको सार्वजनिक भएको थियो । डा.कलवारले आफूले अप्रेसन गरेका बिरामीलाई आफ्ना एजेन्टमार्फत् उक्त रड किन्न दबाव दिएका थिए ।

निःशुल्क दिइनुपर्ने रड किन्न बाध्य पारेको थाहा पाएपछि बिरामीका आफन्तले प्रहरीमा उजुरी गरेका थिए । उजुरीपछि घटना सार्वजनिक भएको थियो । ब्लाष्ट टाइम्स दैनिकले डा.कलवारको बदमासी सार्वजनिक गरेपछि प्रतिष्ठानले उनलाई पत्र पठाएर स्पष्टीकरण सोधेको हो ।

तर, उनी काठमाडौंमा रहेको र प्रतिष्ठानले पठाएको स्पष्टीकरण पत्र आफ्नो कार्यालयमा नराखी प्रतिष्ठान प्रशासनलाई नै फिर्ता पठाउन लगाएको स्रोतले बताएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशङ्कर साहले भने उनलाई इमेलमार्फत् पनि पत्र पठाइसकेको बताए । उनले भने, ‘अब यस विषयमा उच्चस्तरीय छानबिन समिति पनि बनाएर अध्ययन गर्छौं ।’ 

डा.कलवारले आफू र आफ्नो परिवार संलग्न रहेको कोसी सर्जिमेट र टाटा डाइग्नोसिस मार्फत् ती सामान बिक्री गर्ने गरेका छन् । निःशुल्क दिइनुपर्ने सामान बिक्री गरेको विषयमा ब्लाष्टले जिज्ञासा राख्दा डा.कलवारले केही बिरामीसँग पैसा लिएको सत्य भएको बताएका थिए ।

उनले ती सामान काठमाडौंबाट धरानसम्म ल्याउन लाग्ने खर्चका लागि सक्ने सँग पैसा लिएको बताएका थिए । उनले प्रतिष्ठानकै सहकर्मीहरूले आफूलाई बदनाम गराउन खोजेको बताएका थिए ।

यसैबीच प्रतिष्ठानको हाडजोर्नी विभागले विज्ञप्ति जारी गर्दै डा.कलवारले बिरामीसँग पैसा असुलेको भन्ने समाचारले स्तब्ध भएको जनाएको छ ।

विभागका नौ चिकित्सकहरूको हस्ताक्षर सहितको विज्ञप्तिमा साइन नेल प्रतिष्ठानले सन् २००५ देखि निमुखा गरिब तथा आवश्यक बिरामीका लागि निःशुल्क उपलब्ध गराउँदै आएको र त्यसबापत बिरामीले विभाग वा प्रतिष्ठानलाई पैसा बुझाउनु नपर्ने स्पष्ट पारेको छ ।

उक्त सामानको बिरामीबाट पैसा लिने विषयमा विभागको सहमति नभएको र पैसा लिइएको बारे जानकारीसमेत नभएको विज्ञप्तिमा उल्लेख छ । समाचारमा डा.कलवारको ‘कमिसन खान नपाएका साथीहरूले यस्तो कुरा उठाएको’ भन्ने अभिव्यक्तिप्रति पनि विभागका चिकित्सकहरूले आपत्ति जनाएका छन् ।