विराटनगर । विराटनगर–इटहरी–धरान निर्माणाधीन ६ लेनको सडकमा गुणस्तरहीन काम भएको पाइएको छ । ठेकेदार कम्पनीले गुणस्तरहीन सडक बनाएकोले उक्त सडक निर्माणको काम सम्पन्न नहुँदै भत्किन थालेको हो ।

सडक निर्माणमा कमसल सामग्री प्रयोग गरिएकाले निर्माणाधीन सडक निर्माण सम्पन्न नहुँदै भासिएर भत्किन थालेको स्थानीयले बताएका छन् । विराटनगर–१५ का राज भट्टराईले मापदण्ड अनुसार गुणस्तरीय काम नभएसम्म ६ लेनको सडक पुनः निर्माण गरे पनि हालत उस्तै हुने बताए ।

‘गुणस्तरहीन काम भएको कारणले ६ लेनको सडक बनाइनसक्दै भत्किएको छ । अहिले भत्किएको सडक पुनः निर्माणको कामको तयारी गरिएको छ’ उनले भने, ‘अहिले पनि मापदण्ड पालना गरी गुणस्तरीय काम भएन भने फेरि पनि सडक भत्किएर जानेछ ।’ अर्बौं खर्चेर बनाएको गौरवको योजना यसरी निर्माण सम्पन्न नहँदै भत्किएर जानु लज्जास्पद भएको उनले बताए ।

‘यसअघि पनि भत्किएको सडक मर्मत गरिएको थियो । तर, ६ महिना नपुग्दै फेरि भत्कियो । अब फेरि बनाउने तयारी गरिएको छ’ उनले सामाजिक सञ्जाललमा लेखेका छन्, ‘ग्यारेण्टीका साथ भन्छु, अलिक दिनमा फेरि उस्तै हुन्छ । जबसम्म पूरै भत्काएर मापदण्ड बमोजिम गुणस्तरीय काम नभएसम्म यसरी नै सडक भत्किँदै जानेछ ।’

विराटनगरको रानी खण्डको तीन किलोमिटर सडक भासिएर भत्किन थालेको हो । ‘अस्फाल्ट’ प्रविधिको कालोपत्रे भनिए पनि सडक भत्किन थालेपछि विराटनगरको रानी सडक खण्डमा अहिले एकतर्फी सवारी आवागमन हुँदै आएको छ । ६ लेन सडक निर्माणको काम १७ वटा खण्डमा वर्गीकरण गरी विभिन्न ठेकेदार कम्पनीले सडक विस्तारको काम गर्दै आएका छन् । रानीदेखि धरानसम्मको सडक विस्तारको काम उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाले गर्दै आएको छ ।

ठेकेदार कम्पनी आशिष निर्माण सेवाले कमसल सामग्री प्रयोग गरेको थियो । स्थानीयले तत्काल रोके पनि पछि फेरि कम्पनीले सोही सामग्री प्रयोग गरेर सडक निर्माण गरेको थियो । त्यसैले, समय नपुग्दै भत्किने समस्या देखियो ।

उता आशिष निर्माण कम्पनीले भने भारतबाट ठूला मालवाहक सवारी साधन औद्योगिक नगरी विराटनगर प्रवेश गर्दा सडकले भारवहन थेग्न नसकेका कारण सडक भासिन पुगेको बताउँदै आएको छ ।

‘६ लेन सडकको भारवहन क्षमता २० टन मात्र छ । भारतबाट औद्योगिक कच्चापदार्थ बोकेर नेपाल आएका ३० टनसम्म भार बोकेका लहरीलगायतका ढुवानीका साधन गुड्दा रानी सडक–खण्ड भासिन पुग्यो’–कम्पनीका सुपरभाइजर बिएन धमलाले भने ।

उनले रानी सडक–खण्डअन्तर्गत तीन किमी सडक भासिएकाले डेढ किमी सडक भत्काएर पुनः निर्माण गर्ने कार्य सुरु गरिएको जनाए । भासिएको बाँकी सडक पनि चाँडै निर्माण गरिने सुपरभाइजर धमलाको भनाइ छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले निर्माणाधीन सडक भासिएको गुनासो आएपछि सडकको अनुगमन गरी सम्बन्धित ठेकेदार कम्पनीलाई सडक पुनः निर्माण गर्न आफूले निर्देशन दिइसकेको बताए । ‘निर्माणाधीन सडक भासिएको गुनासो आएपछि अनुगमनको गरेका छौं’ उनले भने, ‘भासिएर भत्किएको सडक पुनः निर्माण गर्न ठेकेदारलाई निर्देशन दिएको छु ।’

विराटनगरको रानीदेखि धरानको तीनकुनेसम्म ४९ किमी सडक ६ लेनमा विस्तार गर्ने काम अहिले पनि जारी छ । सङ्घीय सरकारले १० अर्ब ९८ करोड रुपैयाँको लागतमा २०६९/७० देखि ६ लेन सडक विस्तारको काम सुरु गरेको थियो ।

रानीदेखि सुनसरीको तरहरासम्म ३४ किलोमिटरमध्ये ३२ किलोमिटर क्षेत्रमा कालोपत्रको काम सकिएको छ । दुहबीको दुई किमी क्षेत्रमा कामको सुरुवात नै हुन सकेको छैन । यो खण्डमा विभिन्न १७ वटा निर्माण कम्पनीले काम गरेका छन् । सडकको बीच भागमा डिभाइडर राखेर दायाँ–बायाँ ३–३ लेनमा विभाजन गरिएको छ ।