
अदालतको परमादेशबाट बनेको सरकारप्रति लोकतन्त्र कार्यान्वयनका पक्षमा लोकतान्त्रिक अभ्यासबाट अभ्यस्त सचेत सामाजिक र राजनीतिक व्यक्ति एवम् तदनुरूपका शक्तिको विश्वास थिएन । निकै लामो समयसम्म सडकमा पोखिएको सङ्गठित दवावको परिणामस्वरूप सरकारले चुनावको घोषणा गर्यो । अहिलेसम्म चुनावको तालिका प्रकाशन र कामको आवधिक नापनक्सा सार्वजनिक गरेको छैन, तर मिति घोषणा गरेलगत्तै राजनीतिक दलहरू चुनावी माहौल निर्माण गर्न लागेका छन् ।
दृश्यचित्र/सन्दर्भः
यसको सर्वव्यापक अभ्यास आरम्भस्वरूप नेकपा (एमाले), १ नं. प्रदेश कमिटीले गएको फागुन १ र २ गते प्रदेशको राजधानी विराटनगरमा स्थानीय तह चुनाव केन्द्रित अभिमुखीकरण एवम् विषयगत प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो । सङ्घीयता कार्यान्वयनको सफल पहिलो कार्यकालको उज्वल बिम्बस्वरूप आउँदो दोस्रो कार्यकालका लागि साझा अवधारणा विकास गर्नु, सामूहिक सङ्कल्प/प्रतिबद्धता तयार गर्नु र स्थानीय जनाकाङ्क्षालाई राजनीतिक प्रतिबद्धताका रूपमा विकास गर्दै नीति(कार्यक्रममा यसको प्रभावकारिता खोज्नु कार्यक्रमको प्रारम्भिक ध्येय थियो ।
दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ ! जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ !! मूल उद्घोषका साथ सम्पन्न कार्यक्रममा प्रदेशका १४ जिल्लाको नेतृत्व सहभागी थियो । बहुसङ्ख्यक पालिकाका प्रमुख र उपप्रमुखसहितको सहभागितामा सम्पन्न कार्यक्रममा जिल्ला–जिल्लाको प्रगति प्रतिवेदन पेश गर्नुपर्ने थियो । सङ्घीयता कार्यान्वयनको पहिलो कार्यकालमा एमालेको तर्फबाट पठाइएका जनप्रतिनिधिहरूको उपस्थितिमा भए गरिएका राम्रा काम र यसको प्रभावसमेत उल्लेख गर्नुपर्ने कार्यक्रममार्फत् आगामी दिनका लागि सङ्गठित योजना विकास गर्नु कार्यक्रमको अर्को उद्देश्य थियो ।
कार्यक्रमको दोस्रो दिन जिल्ला–जिल्लाको प्रतिवेदन पेश गर्नेक्रममा रहनुभएका मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले आफ्नो जिल्लाको अवस्था उद्धृत गर्दै निर्वाचन तयारीका सन्दर्भमा प्रस्ताव गर्नुभयो– म मेरो वडा जिताउँछु । उहाँको यो निकै ओजपूर्ण प्रस्तुतिलाई नियाल्दै गर्दा सभाहल गम्भीर थियो, राजनीतिक–वैचारिक सङ्गठन निर्माण र परिचालनको रापतापले प्रतिबद्ध थियो, थुप्रै कौतुहलताभित्रको शून्यतामा थियो र जननेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित विचारको आलोकमा सामाजिक–राजनीतिक नेतृत्व निर्माणको प्रश्नले उत्तर खोजिरहेको थियो, जनताको बहुदलीय जनवाद निर्देशित पहलकदमी र प्रतिस्पर्धाको सार्वभौमसत्ता मान्यतालाई दैनन्दिन व्यवहारको कसीमा जाँच्न खोजिरहेको थियो । नेता र नेतृत्वको पाइन खोजिरहेको थियो । अहिले यसले क्रमशः देशव्यापी आकार लिँदै गयो ।
राजनीतिक–वैचारिक पक्ष
के हो यसको राजनीतिक–वैचारिक पक्ष सूक्ष्म अध्ययन आवश्यक छ । समुन्नत राजनीतिक–वैचारिक मूल्य–मान्यता र यसको चुस्त कार्यान्वयनका कारण नेपाली राजनीतिमा नेकपा (एमाले) खुला कितावको रूपमा स्थापित शक्ति हो । ब्यालेटमा प्रकट जनमत र सडकमा भेटिने जनअभिमतका हिसाबले पनि नेपाली कम्युनिष्ट आन्दोलन र नेपालको बाम–प्रजातान्त्रिक आन्दोलनको मूल प्रवाह हो । अध्यक्ष कमरेड ऋषिको यो प्रस्तावले आजको बाम–प्रजातान्त्रिक र राजनीतिक–वैचारिक कोर्षलाई उठाएको छ । पहलकदमी र प्रतिस्पर्धामा विश्वास गर्ने र आन्तरिक पार्टी सङ्गठनात्मक जीवनमा समेत अभ्यास अवलम्बन गर्दै आएको एमाले पछिल्लो आफ्नो संसदीय कार्यकालभर राष्ट्र र राष्ट्रियताका मुद्दामा खरो उत्रिएको छ, समग्र जनमत र जनअभिमतलाई शिरोपर गर्दै आएको छ, पूर्वाधार निर्माण र विकासमुखी राजनीतिको नेतृत्व गर्दै आएको छ । यसको निरन्तरतास्वरूप म मेरो वडा जिताउँछु भन्ने प्रस्ताव आएको छ, सङ्गठित ढङ्गले विकास भएको छ ।
दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ ! जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ !! पार्टीले अघि सारेको यो नारा महाधिवेशनबाट सर्वसम्मत पारित कार्यक्रमिक कार्यभार हो । यसले एकातिर क्रान्तिकारी पार्टी र शक्तिलाई दक्षिणपन्थी अवसरबाट मुक्त पार्टीभित्र प्रकट हुने उत्ताउला विचारहरू र विचारका नाममा हुने बहुकेन्द्रित गतिविधिलाई प्रश्रय दिने अराजकतालाई परास्त गर्ने कुरा गर्छ भने अर्कोतिर जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेपाली समाजमा समाजवादको आधारशिला निर्माण गर्ने सङ्कल्प गर्छ । यो पनि आफैमा पहलकदमी र प्रतिस्पर्धाको मनोविज्ञानद्वारा निर्देशित राजनीतिक कार्यभार र रणनीतिक कार्यक्रम हो ।
जबज र कार्यक्रम
जनताको बहुदलीय जनवादले विद्यमान राजनीतिक कार्यक्रम र कार्यदिशालाई रणनीतिक महत्वका साथ ग्रहण गरेको छ । रणनीतिक र कार्यनीतिक पक्षलाई जनताको बहुदलीय जनवादले सधैँभरि अन्योन्याश्रित ढङ्गले पक्षपोषण गर्छ । हामीले अवलम्बन गर्ने संवैधानिक, शान्तिपूर्ण र लोकतान्त्रिक प्रतिस्पर्धाको बाटोमा जनताको बहुदलीय जनवादले आफ्ना कार्यक्रमहरूमार्फत् राष्ट्रिय उद्यमशील पुँजीको विकासमा जोड दिन्छ । यसनिमित्त पहलकदमी र प्रतिस्पर्धाको अभ्यास स्वयंमा नेतृत्व निर्माण, विकास र हस्तान्तरणको माध्यमका रूपमा अङ्गीकार गर्छ ।
उम्दा विचारले मात्र समाजवादको आधारशिला निर्माण गर्ने कुरामा जनताको बहुदलीय जनवादले राजनीतिक नेतृत्वलाई दिशानिर्देश गर्छ, हाम्रो समाजलाई डो¥याएको हुन्छ । यो नै आजको हाम्रो साझा राजनीतिक कार्यक्रम र कार्यदिशा हो । जनताको बहुदलीय जनवादको राजनीतिक–वैचारिक पक्ष हो, राजनीतिक लडाइँको मेरूदण्ड हो । सङ्घीयता कार्यान्वयनको सन्दर्भमा कार्यक्रमसहित आफ्नो दावी पेश गर्ने र सिर्जनशील कार्यक्रमिक प्रतिबद्धता र क्रियाशीलतामार्फत उत्तीर्ण हुने शर्तमा म मेरो वडा जिताउँछु भन्ने जनताको बहुदलीय जनवाद निर्देशित कार्यक्रमिक मान्यता हो ।
वडा जिताऔँ अभियान
वडाध्यक्ष जिताइयो भने पालिका प्रमुख, उपप्रमुखसहितको टिम स्वतः जितिन्छ भन्ने गणितीय आँकलनमा श्रेष्ठ रहनुभएका अध्यक्ष– म मेरो वडा जिताउँछु अभियानको कार्यान्वयनले प्रत्येक पार्टी सदस्यलाई स्थानीय कामसँग जोड्ने, जोडिएको कामले अनिवार्य उत्पादन दिने, उत्पादनमार्फत् आफ्नो समाज बनाउने, उत्पादनमा आधारित कार्यको निरन्तर प्रयोगमार्फत् समाजलाई बदल्ने÷चलाउने, उत्पादनमाथि कसैको पनि निजी स्वामित्व भए समाजलाई बिग्रनबाट बचाउने र सामूहिक स्वार्थभित्र अटेको निजी स्वामित्व÷स्वार्थ भए यसलाई हटाएर समाज सप्रने कुराको सुनिश्चित हुने आधार तयार हुने कुरामा ढुक्क हुनुहुन्छ । वास्तवमा प्रयोगका दृष्टिकोणले यो व्यावहारिक पनि छ । यसले कानूनी र संरचनागत आधारहरूलाई शिरोधार्य गर्छ । संरचनागत व्यवस्थापनभित्र व्यापक जनशक्तिको परिचालन गर्छ । यो राजनीतिक क्षेत्रमा मात्र होइन, राजकीय जिम्मेवारी निर्वाहको क्षेत्रमा समेत समृद्धि प्राप्तिको आधार बन्न सक्छ ।
‘म मेरो वडा जिताउँछु’ अभियानको कार्यान्वयनमा राजनीतिक इमान र निष्ठा पेश हुन जरुरी छ । प्रारम्भदेखि उत्तराद्र्धसम्म आइपुग्दा राजनीतिक लडाइँका अतिरिक्त जनयुद्धकालमा हतियार ओसार–पसारको बिजनेश, यसको अर्थकूटनीतिक पक्ष र सूक्ष्म राजनीतिक अन्तरवस्तु, क्रमशः हाम्रो समाजमा बढेको असहिष्णुता, सामाजिक अस्थिरता र अस्थायित्वको पक्षमा भएका गतिविधिहरू, पहिलो संविधानसभा विघटनको रहस्योद्घाट, दोस्रोपटक पनि संविधान जारी हुन नदिने प्रयासहरू, कम्युनिष्ट एवम् बामपन्थी शक्तिबीचको एकताको प्रयास, एमाले नेतृत्वको सरकार, सरकारमार्फत् गरिएका दूरगामी महत्वका कार्यक्रमहरू, सरकारको बढ्दो लोकप्रियता, राष्ट्रवादी एवम् देशभक्तिपूर्ण आन्दोलनका निष्कर्षहरू र यसको कार्यान्वयनमा एमाले, अप्रिय ढङ्गले आइलागेको पार्टी विभाजनको आधार विकास आदिका बारेमा प्रष्ट्याउन सक्ने हो भने दार्शनिक क्षेत्रमा मात्र होइन, अर्थतन्त्र निर्माण र विकासको क्षेत्रमा र सामाजिक जीवनका क्षेत्रमा समेत जनताको बहुदलीय जनवादको सत्यापन अवश्यम्भावी हुन्छ । यसर्थ, म मेरो वडा जिताउँछु अभियान चुनाव प्रयोजनका लागि मात्र होइन, चुनाव अघि वा पछि पनि आफ्नो राजनीतिक–वैचारिक भूमिकालाई उत्तिकै खरो ढङ्गले उतार्न कामयाब हुन्छ, विचारको अग्रगतिसहित सङ्गठन निर्माणको प्रश्नमा यो वैचारिक अस्त्र धारिलो हतियार बन्न सक्छ ।
अभियानको स्रोत
आधारभूत स्रोत विकासको पक्षलाई हेर्दा जनताको बहुदलीय जनवादले पूर्वीय दर्शनलाई आफ्नो प्रस्थान बिन्दु मान्छ । सँगसँगै मानवीय वस्तुहरूको पुँजीगत सङ्ग्रह, यसको विषयगत खोज, अध्ययन र अनुसन्धान, उघ्रिँदो तागतको रूपमा अस्तित्वमा आएको सोभियत कम्युन ढल्नुका सटिक कारणहरू, वैकल्पिक शक्तिको रूपमा विकसित चिनियाँ क्रान्तिका सफलताहरू, दक्षिण एशियामा भारतीय कम्युनिष्ट आन्दोलनका उतारचढावहरू, विश्वबजारमा फैलिएको यान्त्रिक उपकरणको तीव्रत्तर विकास, दलाल पुँजीवादको सङ्क्रमणकालीन अवस्था, एकाधिकारपूर्ण बजार र साम्राज्यवाद विकासक्रमका आधारहरू र आफ्नै भू–राजनीतिक विशेषताअनुरूप विकसित क्रान्तिकारी सारतत्व, लोकतान्त्रिक मूल्य–मान्यता र प्रतिस्पर्धात्मक पहलकदमीलाई जनताको बहुदलीय जनवादको सार बोकेको स्वरूप विकासको रूपमा लिन सकिन्छ । ‘म मेरो वडा जिताउँछु’ अभियानमा उपल्ला कतिपय विषयवस्तुलाई विषयगत अध्ययन सामग्रीको रूपमा विकास गर्न सकिन्छ । यसबाट राजनीतिक र वैचारिक श्रेष्ठता कायम हुनेछ ।
जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको रक्षाकवचका रूपमा बचाउन, एउटा उन्नत र सिर्जनशील कार्यक्रमका रूपमा प्रयोग गर्न र एमालेको उपस्थितिमा तहगत सरकारमार्फत् विकाससँग सकिन्छ । यो नेतृत्वको क्षमतामा भर पर्दछ । शत्रु पक्षका हतकण्डालाई चिन्न र चिर्न सकिने औजारका रूपमा म मेरो वडा जिताउँछु अभियान सञ्चालन अनिवार्य छ, यो जनताको बहुदलीय जनवाद निर्देशित कार्यक्रमबाट मात्र सम्भव छ ।
यो अभियानका सबै अभियन्तालाई सगर्व बधाई एवम् शुभकामना !