सर्वप्रथमतः यस नगरका समस्त आमा–बुबा, दाजु–भाइ, दिदी–बहिनीहरूमा सँघारमा आउँदै गरेको नववर्ष–२०७९ सालको सहृदय असीम शुभकामना तथा बधाइ ज्ञापन गर्न चाहन्छु । मेरो धरान हिजो पनि राम्रो थियो, आज पनि राम्रो बनाइराख्नु छ र भोलि पनि राम्रो हुनेछ भन्नेमा हामी नगरवासी पूर्ण विश्वस्त छौं र यही नै हामी सबैको नववर्षको प्रतिबद्धता पनि हुनेछ ।

हामी सहिष्णु छौं, दयालु छौं, समभाव राख्छौं, त्यसैले हाम्रो परम्परा, हाम्रो संस्कार एकताको हो, विभाजित र विघटनको होइन । विश्व राजनीतिलाई नै हेर्ने हो भने सिद्धान्त र आदर्शले भन्दा सुविधा र उपयोगिताले नेतृत्व गरेको देखिन्छ । नत्र भने युक्रेनकी एउटी मात्र नौ वर्षकी अबोध बालिकाले ‘म मेरो घरमै मेरी आमा र बाबासँग बस्न, म मेरा साथीहरूसँग खेल्न पाऊँ’ भन्दै युद्ध शान्तिको लागि मर्मस्पर्शी भावना विश्वसमक्ष राख्ने अवस्था हुँदैन थियो होला ।

अब म यस नगरको विषयमा आफ्ना मनका केही कुराहरू राख्न लागिरहेको छु । धरानको आफ्नै इतिहास, संस्कृति र परम्परा जीवन्त छ र यसमा कसैको पनि दुईमत छैन । भविष्यमा पनि यस सहरको गौरवशाली इतिहास बनाउन हामी सबैको अथक प्रयास र दृढ सङ्कल्प हुनुपर्छ भन्ने मान्यता राख्नुपर्छ । किनभने यो धरान मेरो हो–हाम्रो हो र राम्रो हो ।

मैले यी हरफहरू लेख्दालेख्दै आफ्ना पितृ पुर्खाहरू स्मरण गरिराखेको छु भने यस नगरको गौरव कायम गरिराख्नका लागि बुद्धिजीवी, राजनीतिकर्मी, व्यापारी, उद्यमी, सामाजिक अभियन्ता, शिक्षासेवी, चिकित्सक, पत्रकारजस्ता उत्प्रेरक व्यक्तित्वहरूबाट गरिएको निःस्वार्थ योगदानप्रति सम्मान व्यक्त गर्न चाहन्छु ।

यसै सन्दर्भमा आजको धराने पुस्ताले भोलिको पुस्तालाई कस्तो धरान हस्तान्तरण गर्न चाहेको छ, त्यो हाम्रो लागि चुनौती र अवसर दुवै हुनेछ । तसर्थ यस विषयमा हामी धरानवासीले कुनै पनि आशङ्का नकारात्मक सोच नराखी मात्र सकारात्मक रूपमा प्रस्तुत भएर आउँदा दिनमा सुन्दर धरानको परिकल्पना गर्न थाली हालौं, यो हामी सबैको लागि उत्तम अवसर हुनेछ ।

आगामी दिनमा स्थानीय सरकारको लागि निर्वाचन हुँदैछ । यो हामी सबैको लागि स्वर्णिम अवसर पनि हो, किनभने हाम्रो मतले यस नगरको भविष्य निर्धारण गरेको हुन्छ । निर्वाचित प्रतिनिधिहरूले यस नगरका लागि स्थानीय विशेषता, हावापानी सुहाउँदो कृषि, पर्यटन, उपलब्ध प्राकृतिक स्रोत र सम्पदाको संरक्षण, व्यवस्थापन र उपयोगको कार्ययोजनाहरू समावेश गरिनु सान्दर्भिक हुनेछ ।

साथै, यस नगरमा रोजगारीका क्षेत्रहरू के के छन् ? सो यकिन गरी योजनाहरू बनाउन अग्रसरता देखाउनु पर्ने हुन्छ । दलहरूबीच नमिल्ने विषयहरू धेरै हुन सक्छन् । प्रत्येक विषयमा अहम् तुष्टिको लागि विवाद सिर्जना गरेर झै–झगडा गरिएको खबर नित्य पढ्नु र सुन्नु परेको छ, अनेक विसङ्गति, अन्तरविरोध र झिनामसिना विषयमा अल्झिराख्दा पनि नगरको सामूहिक हित हुन सकिरहेको छैन ।

तसर्थ अबदेखि हाम्रो पार्टीले यसो भनेको भनेर भन्ने नगरौं, बरु धरानवासीले यसो भनिरहेका छन् भन्नेमा ध्यान आकृष्ट गरौं । प्रजातान्त्रिक निर्वाचनमा एकजना विजेता र दोस्रो उप–विजेता निश्चित छ । जो व्यक्ति उप–विजेता हुन्छ, उसलाई जित्ने उम्मेदवारले उसको पनि भूमिका नगर विकासको लागि उत्तिकै छ भनी बुझेर विकासको समन्वयकर्ताको लागि आग्रह गरेर राम्रो अभ्यासको प्रारम्भ गरिनु पर्छ ।

धरान नगरको समुचित र सन्तुलित विकासको लागि सामूहिक छलफल तथा निष्कर्ष, सहभागिता र एकत्व भाव निर्विकल्प विषय हुनुपर्छ । देखिन आएका वा देखिएका प्रत्येक विषयका लागि छलफल र निर्णय गर्नुपर्दा सो विषयसँग सम्बन्धित दक्ष व्यक्तित्वहरूसँग सम्पर्क र समन्वय गरी आवश्यक सुझाव माग गरिनु राम्रो कुरा हो ।

तसर्थः प्रतिनिधिहरूको समीपमा बुद्धिजीवी, प्राविधिक, प्रशिक्षक, अध्येता उत्प्रेरक र सम्बन्धित अन्य व्यक्तित्वहरू भएमा कुनै पनि निर्णय लिन सहज हुनेछ र यो आजको टड्कारो आवश्यकता पनि हो ।

नगरभित्र उठेका प्रत्येक समस्याहरूलाई महŒव दिएर सकारात्मक संवादमार्फत् समाधान खोजिनु पर्छ । राम्रो मात्र सोचौं–नराम्रो त सोच्दै नसोचौं । क्षमता र अधिकारभन्दा परको वाचा गर्दै नगरौं । विषयहरू त्यस्ता मात्र प्राथमिकतामा राखौं, जुन आफ्नो अधीनमा रहन्छ अर्थात् विधिविधान र नियमले प्रत्यायोजन गरेको हुन्छ । यस प्रकार कार्यहरू सम्पादन गर्न सक्यौं भने आउने सन्ततीका लागि सकारात्मक सन्देश हुन जान्छ र सम्बन्धित सरकारसँग विश्वासको वातावरण पनि सिर्जना हुन थाल्छ ।

स्थानीय सरकारले विकास र वातावरणलाई बुझ्न सक्नु पर्छ । यस नगरको वरिपरि रहेका वन, जङ्गल र पानीका मुहानलाई विकासको नाममा बिर्सेर पनि मास्ने कार्य गर्नु हुँदैन । पञ्चतŒव (जल, वायु, नभ, अग्नि र धरा) लाई हामीले दासको रूपमा होइन, अपितु जीवनको लागि ईश्वरीय वरदान हुन् भन्नेमा सबैले अनुभूत गर्नुपर्छ र यो नै अन्तिम सत्य हो । यदि यो समाप्त गर्नेतर्फ अग्रसर भइयो भने यसको प्रत्यक्ष असर सबै नगरवासीलाई पर्छ ।

यही कारण प्राकृतिक स्रोत र सम्पदाको संरक्षण र समुचित व्यवस्थापनमा स्थानीय समुदाय नै सबैभन्दा प्रभावकारी हुन्छ । स्थानीय सरकारलाई माथिका सरकारले यस विषयमा हस्तक्षेप गर्नु नै हुँदैन, किनभने माथि नै उल्लेख भइसकेको छ कि नगरभित्र रहेका प्राकृतिक स्रोत र सम्पदाहरू नष्ट हुँदा माथिल्ला सरकारका प्रतिनिधिहरूको जीवन सङ्कटमा पर्दैन, पर्ने त नगरवासीमा नै हो । त्यसैले स्थानीयमै सरकार प्राकृतिक स्रोत–सम्पदाको संरक्षण, व्यवस्थापन र उपभोगको अधिकार बढाउनु अनि अरूले सहजीकरण गर्नु उपयुक्त बाटो हो ।

यी बाहेक अन्य केही विशेष बुँदाहरू पनि जो प्रत्यक्ष वा परोक्ष रूपमा नगरवासीसँग सरोकार राख्छन्, अतः निर्वाचित जनप्रतिनिधिहरूसँग हामी नगरवासीको विशेष अनुरोध छ कि निम्न लिखित विवरणलाई हृदयङ्गम गरी आवश्यक सम्बोधन गरिदिनु हुनेछ भनेर परिणाममा तपाईं प्रतिनिधिहरू र हामी नगरवासीबीच विश्वासको वातावरण बन्न सकोस् भन्ने अपेक्षा पनि गरेका छौं ।

–नगरभित्र रहनुभएका ज्येष्ठ नागरिक र बालबालिकालाई सरकारको प्रत्येक निकायमा उचित सम्मान र स्नेह मिलोस्,
–यो सहर खेलाडीको पनि सहर भएकोले यो चिनारी भविष्यमा समेत कायम भइरहोस्,
–यस नगरभित्र रहेका मठमन्दिर, मस्जिद, गिर्जाघर जस्ता पवित्रस्थलहरूको संरक्षण र सम्बद्र्धन गरिरहनु पर्छ भन्ने मान्यता कायम गरौं,
–वृक्षरोपणलाई मात्र कार्यक्रमको रूपमा नलिएर परिणाममुखी बनोस्,
–सडक र कार्यालयहरू अपाङ्ग र असक्तमैत्री बनोस््,
–सडकमानवको उचित व्यवस्थापन गरियोस्,
–वडाध्यक्षहरूबीच आवधिक रूपमा समन्वय र सम्पर्क राख्ने गरी बैठक बस्ने गरियोस्,
–नगरभित्र रहेका सबै वडाहरूमा सम्पादन गरिएका कार्यहरूका आधारमा वडा पुरस्कार प्रदान गर्ने व्यवस्था गरियोस्,
–शुद्ध खानेपानीको लागि अविलम्ब दिगो व्यवस्था गरी नगरवासीलाई राहत भयो भन्ने महसुस गराइयोस्,
–नगरका केही वडाहरूमा बाँदरले धेरै दुःख दिइरहेको छ । यसको लागि पनि वडा समितिको कार्यालयसँग समन्वय गरी आवश्यक निर्देशन प्रवाह गरियोस्,
–नगरभित्र रहेका सामाजिक सङ्घ–संस्थाहरूसँग आवधिक रूपमा छलफल गरी भविष्यमा गरिने कार्य योजनाहरू निर्धारण गर्न सहयोग गरियोस्,
–नगरभित्र रहेका फुटपाथको उचित व्यवस्थापन, पार्किङको समस्याको कारणले नगरभित्र गरिने बन्द व्यापारमा प्रतिकूल असर परी इटहरीतर्फ स्थानान्तरण भइरहेको समाचारप्रति ध्यानाकर्षण होस्,
–हामीले उपभोग गर्ने खाद्य सामग्री चाहे त्यो दूध होस्, फलफूल होस् वा भान्सामा प्रयोग गरिने वस्तुहरूको गुणस्तर कस्तो छ, यो उपभोग्य छ वा छैन सो को जानकारी प्राप्त गर्नका लागि नगरस्तरीय खाद्य प्रयोगशालाको स्थापना अनिवार्य गरियोस्,
–नगरको लागि मात्र एउटा स्तरीय स्वास्थ्य केन्द्र (सिटी हस्पिटल) निर्माण गरियोस्,
–दक्षिण एशियामा नै आफ्नो पहिचान कायम राख्न सफल भएको र यस नगरको गर्वको रूपमा परिचित एकमात्र स्वास्थ्य प्रतिष्ठान बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आजको दुरावस्था देखिरहँदा नगरवासीको हैसियतले अत्यन्तै पीडाबोध हुन्छ, तसर्थ किञ्चित मात्र पनि उदासिनता नदेखाई अविलम्ब देखिन आएका समस्याहरूलाई दृष्टिगत गरी सुरक्षित अवतरण गरियोस् ।

अन्त्यमा, जनविश्वासबाट आउनुहुने जनप्रतिनिधिहरूको पूर्ण कार्यकालको सफलताको लागि सहृदय असीम शुभकामना । तपाईंहरू र हामीबीच समझदारी, विश्वास, समन्वय र सहज सम्पर्कको वातावरण बनिरहोस् । तपाईंहरू अनुशासित, मर्यादित, समर्पित भएर अगाडि बढ्नुहोस् हामी नगरवासी तपाईंहरूको साथमा छौं ।

हामी नगरवासीको एक मात्र स्वार्थ भनेको धरानको समुचित विकास, भ्रष्टाचारमुक्त नगर, नागरिकको आफूले लिने सेवामा सहज पहुँच र आत्मसम्मान हो । तपाईंहरूबाट सम्पादन गरिएका प्रत्येक कार्यहरूको पारदर्शिता कायम रहोस्, भ्रष्टाचारमा शून्य सहनशीलता रहोस् ।

आफूबाट सम्पादन गरिने काम, कर्तव्य र अधिकार नीति, नियम र निर्देशिकाको अधीनमा रही जिम्मेवारी वहन गरियोस् । जसले गर्दा हामी नगरवासीको पनि नगरप्रतिको आफ्नो कर्तव्य महसुस होस् । आत्मीयता, सहृदयता र समभावले बास गरोस्, यही छ असीम कामना ।
(लेखकः शारा थापा स्मृति प्रतिष्ठान, धरानका अध्यक्ष हुन् ।)