धरान । किरात राई यायोक्खाको ३५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा आइतबार धरान–१० स्थित किरात राई यायोक्खा सुनसरीको कार्यालय यलम्वर स्मृति भवनमा आयोजित रक्तदानमा ३७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक चन्द्र बान्तवाले बताए ।
यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईको अध्यक्षता र धरान उपमहानगरपालिका वडा नं. १०का अध्यक्ष विवेक राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यायोक्खाका केन्द्रीय सचिव दोर्पध्वज राई, सल्लाहकार प्रकाश राई, किशोर राई, अशोक राई, नेपाल आदिवासी जनजाति समन्वय परिषद् सुनसरीका अध्यक्ष राम माण्डुपा राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा यायोक्खाका धरान उपमहानगर कार्य समिति, वडा कार्यसमिति, भाषिक तथा भातृ सङ्गठनहरूको सहभागिता रहेको थियो ।
यसैगरी आइतबार साँझ भानुचोकमा एक नम्बर प्रदेशलाई किरात प्रदेश नामकरण गर्न माग गर्दै दीप प्रज्वलन गरिएको यायोक्खा सुनसरीका सचिव नवीन राईले बताए । कार्यक्रमका प्रमुख अतिथि यायोक्खाका केन्द्रीय सचिव दोर्पध्वज राईले प्रदेश १ को नाम पहिचानका आधारमा हुनुपर्ने माग राखे ।