सुनसरी । कोसीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुसाहाको व्यवस्थापन समिति अध्यक्षमा राजकुमार सिंह निर्वाचित भएका छन् ।

बिहीबार भएको निर्वाचनमा प्रतिद्वन्द्वीलाई तीन मतको अन्तरले पराजित गर्दै उनी व्यवस्थापन समिति अध्यक्ष पदमा निर्वाचित भएका हुन ।

सुनसरी, सप्तरी र उदयपुर जिल्लाको १ सय ७५ वर्गकिलोमिटर क्षेत्रमा अवस्थित रहेको कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख रमेशकुमार यादवको अध्यक्षतामा सम्पन्न निर्वाचनबाट व्यवस्थापन समितिको अध्यक्षमा सिंह पहिलोपटक निर्वाचित भएका हुन् ।

कोसीटप्पु वन्यजन्तु आरक्षको व्यवस्थापन समिति अध्यक्ष निर्वाचनमा जम्मा नौ जनालाई मतदान गर्ने अधिकार रहेकोेमा निर्वाचित सिंहले नौ मध्ये ६ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिद्वन्द्वीले तीन मत मात्रै प्राप्त गरे । निर्वाचित सिंहले आफ्नो कार्यकालमा कोसीटप्पु वन्यजन्तु आरक्षको विकास र विस्तारमा ध्यान केन्द्रित गर्ने बताए ।

नेपाल सरकारले जनसहभागितामा संरक्षण कार्य अगाडि बढाउने लक्ष्यले मध्यवर्ती क्षेत्रको घोषणा गरी, २०६१ साल भदौ ३१ गते मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन गरेको थियो ।

मध्यवर्ती क्षेत्रको क्षेत्रफल १ सय ७५ वर्गकिलोमिटर रहेकोमा यस अन्तर्गत सुनसरी, सप्तरी, उदयपुर जिल्लाका भू–भाग पर्दछन् । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा ९ जना समिति सदस्य, १ जना समिति अध्यक्ष तथा १ सदस्य–सचिवमा संरक्षण अधिकृत लगायत १३ सदस्यीय व्यवस्थापन समिति रहने प्रावधान रहेकोे छ ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलले विशेष गरेर आरक्ष वरिपरि रहेका प्राकृतिक स्रोतको संरक्षण र सदुपयोग, स्थानीय सामुदायिक विकासलगायत आरक्ष संरक्षणमा सहयोग गरेर सल्लाहकारको भूमिका निर्वाह गर्ने कार्य गर्दै आएको नवनिर्वाचित अध्यक्ष सिंहको भनाइ छ ।