धरान । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
जिल्ला अदालत काठमाडौँले उनलाई पक्राउ गर्नका लागि बिहीबार अनुमति दिएको हो । १७ वर्षीय नाबालिगलाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । उजुरीपश्चात् प्रहरीले घटनास्थलमा पुगी प्रमाणहरू जुटाएको थियो ।
सन्दीपले भदौ ५ गते मध्यराति काठमाडौँको एक होटलमा पु¥याई नाबालिगलाई बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जिल्ला अदालतबाट पक्राउ पुर्जीको अनुमति लिएको बताए ।
सन्दीप हाल क्यारेबियन मुलुक सेन्ट लुसियामा प्रिमियर लिग खेल्नका लागि पुगेका छन् । नेपालको कानूनमा १८ वर्ष मुनीका नाबालिगमाथि सहमतिमै यौनजन्य कार्य गरे पनि बलात्कार मानेको छ । बलात्कारको घटना सार्वजनिक भएलगत्तै क्रिकेट एसोसिएशन नेपाल (क्यान) ले चासो देखाएको थियो भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले पनि चासो व्यक्त गरेको छ ।
यता क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै कप्तान लामिछानेलाई निलम्बन गरेको छ । ‘अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा नेपाल क्रिकेट सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछाानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।
१७ वर्षीया नाबालिगको परिवारले बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा मङ्गलबार उजुरी दिएको थियो । किटानी जाहेरी परेका आधारमा प्रहरीले सुरुमा अनुसन्धान गरी प्रमाण जुटाएको थियो । उनीहरू घटना भएको दिन भक्तपुरको नगरकोट पनि पुगेको उक्त होटलको सिसीटिभी फुटेजमा देखिएको छ ।
नाबालिगले आफूमाथि जबर्जस्ती करणी गरेको भनी प्रहरीमा बयान दिएकी छन् । सोही बयानका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको एसपी मैनालीले जानकारी दिए । उनीमाथि मुलुकी अपराध संहिता २०७४ अनुसार कारबाही हुने जनाइएको छ ।