विजयपुर । धरान उपमहानगरपालिकाले एक वडा एक पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको कार्यपालिका बैठकले नगरवासीलाई रोजगार प्रदान गर्ने उद्देश्यले एक वडा, एक पूर्वाधार विकास गर्ने निर्णय गरेको हो । कार्यपालिका बैठकले विभिन्न १८ वटा निर्णयहरू गरेको धरान– १७ का वडाध्यक्ष तथा उपमहानगर प्रवक्ता सूर्यकुमार भट्टराई (मनोज) ले जानकारी दिए । उनका अनुसार कार्यसूचीमा भएका सबै एजेन्डाहरू पास भएका छन् ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको बस्तीको तहगत क्षेत्र निर्धारण गर्ने निर्णय गरेको छ । साथै धरान–१३ स्थित राई टोलका ३० घर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको नामावली स्वीकृत गरी राष्ट्रिय भूमि आयोग, जिल्ला समिति सुनसरीलाई पठाउने निर्णय गरेको छ ।
बाटो निर्माण तथा मर्मत सम्भारका लागि उपकरणसहितको महाशाखा खडा गर्ने, धरान–२० देवीगाउँ र सर्दु खोलापारिको क्षेत्रलाई ओद्योगिक ग्रामको रूपमा विकास गर्ने निर्णय भएको प्रवक्ता भट्टराईले बताए ।
भू–उपयोग क्षेत्र वर्गीकरण गर्ने, विद्युतीय नक्सा पास सम्बन्धमा प्रगति समीक्षा, फुटपाथ व्यवस्थापन गर्ने, कवाडी हटाउने, होटल रेष्टुरेन्टको मापदण्ड सम्बन्धमा, ओजेटी सम्बन्धी तालिमका लागि विषयवस्तु छनौट गर्ने, बाटोको नाम कायम गर्ने, खानेपानी मन्त्रालय र सहरी विकास मन्त्रालयबाट भइरहेको आयोजनाहरूको अध्ययनको जानकारी सम्बन्धमा र कान्जी हाउस निर्माण गर्ने निर्णय भएको उनले बताए ।