भोजपुर ।  नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरले शैक्षिक सुधारको लागि ६४ बुँदे शिक्षा सम्वन्धि चखेवा अवधारणा पत्र सार्वजनिक गरेको छ । सामुदायिक विद्यालयको खस्किदो शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि अवधारणा पत्र सार्वजनिक गरिएको हो ।

संगठनका सचिव विष्णुकुमार राईले प्रस्तुत गरेको अवधारणा पत्रमा शिक्षा क्षेत्रका देखिएका समस्या र समाधानका उपाय समेटिएका छन् । राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा सार्वजानिक अवधारणा पत्रमा अहिले सम्म पनि २०२८ सालको शिक्षा ऐन लागु हुनु , नयाँ संघीय शिक्षा ऐन नआउनु, सामुदायिक बिद्यालयहरु प्रति कसैको चासो र प्राथमिकता नरहनु, रोजगार मुलक शिक्षाको ब्यावस्था नगर्नु जस्ता समस्या उल्लेख गरिएको छ । 

अधिकांश बिद्यालयहरु प्रस्तावित भएकाले पर्याप्त र दरवन्दी अनुसारका शिक्षकहरुको ब्यवस्थापन हुन नसक्नु, बसाई सराई र जनघनत्वका कारण प्राथमिक तहका बिद्यालयहरुमा बिद्यार्थीको संख्या कम हुनु, बिज्ञान तथा गणित बिषयका योग्य शिक्षकहरुको कमी जस्ता समस्या पनि अवधारणा पत्रमा समावेश गरिएका छन् ।

यस्तै नीतिगत समस्याहरुमा भने संगठनले बिद्यार्थी संख्याको आधारमा नभई कक्षागत आधारमा दरवन्दी ब्यवस्थापन गर्नु पर्ने, प्राथमिक तहमा बिषयगत शिक्षकको ब्यवस्था गर्नु पर्ने , एकद्वार प्रणाालीबाट शिक्षकको दरवन्दी ब्यवस्थापन गरिनु पर्ने लगायत माग अवधारणा पत्रमा समावेश गरिएको छ ।

अवधारणा पत्रमा शिक्षक महासंघ र सरकारबीच भएका सम्झौताहरुलाई समेटेर संघीय शिक्षा ऐन तत्काल जारी गर्नु पर्ने, प्रस्तावित माविहरुमा बिषयगत दरवन्दीको ब्यवस्था, बिद्यालयमा कार्यरत सवै प्रकारका शिक्षक र कर्मचारीहरुको पेशागत ग्यारेन्टी र भोजपुरमा बिएससीएजी क्याम्पसको स्थापनाका लागि पहल गर्नु पर्ने लगायत माग राखिएको छ । 

कार्यक्रममा चखेवा अवधारणा पत्रलाई जिल्लाको नौ ओटै स्थानीय तहमा रहेका तिन सय ८४ सामुदायिक बिद्यालयहरुमा कार्यान्वयन गरिने नेपाल संगठनका भोजपुर अध्यक्ष ध्रुवराज रेग्मीले बताए । शिक्षाको गुणस्तर खस्कनुको कारण शिक्षकलाई मात्र दोषि देखाएर राज्य पञ्छिन खोजेकाले राज्यको ध्यानाकर्षण गराउदै समस्या समाधान गराउने उद्धेश्यले अवधारणा पत्र सार्वजनिक गरिएको रेग्मीको भनाइ छ । सोही कार्यक्रममा नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तीर्थ कुमार राईले राज्यले शिक्षक तथा शिक्षा क्षेत्रलाई उपेक्षा गरेको बताए । राज्यले शिक्षा क्षेत्रमा बजेट विनियोजन गर्दा समेत कम प्राथमिकतामा राख्ने गरेको उनले गुनासो गरे ।

कार्यक्रममा बढुवा भएका चार जना शिक्षकलाई सम्मान गरिएको छ । बढुवा भएका ध्रुवराज रेग्मी, तीर्थ कुमार राई, राजधन राई र सरिता तामाङलाई सम्मान गरिएको हो । यस्तै संगठनले स्वास्थ्य उपचारका लागि संगठनका पूर्व अध्यक्ष प्रकाश चन्द्र खतिवडालाई २५ हजार आर्थिक गरेकोे सचिव बिष्णुकुमार राईले बताए ।