विराटनगर । ७ प्रदेश मध्ये सबैभन्दा बढी १ नं. प्रदेशमा आत्महत्या गर्ने बढेपछि  प्रहरीले ‘आत्महत्या रोकथाम तथा न्यूनिकरण अभियान’ सुरू गरेको छ । 

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयसँग समन्वय गरी आत्महत्या रोकथाम तथा नियन्त्रणको लागि विशेष अभियान सुरू गरेको प्रदेश प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदीप गिरीले आत्महत्या रोक्नका लागि प्रहरीले प्रदेश १ आन्तरिक मामिला तथा कानूनमन्त्रालय सँगको समन्वयमा विशेष अभियान संचालन गरिएको जानकारी गराए । अभियान अन्र्गत शनिबार विहान विराटनगरमा प्रभातफेरी निकालेर अभियानको औपचारिक शुभराम्भ भएको जानकारी गराउने डिआइजी गिरीले बताए ।

‘औपचारिक रूपमा आत्महत्या रोकथाम र नियन्त्रणको लागि अभियान सुरू भएपछि जिल्ला प्रहरी मार्फत प्रदेश १ का प्रत्येक स्थानिय तहरूमा यो अभियान पुग्नेछ,’ डिआइजी गिरीले भने, ‘अहिले बढदै गएको आत्महत्या सबैको साथ सहयोग र सचेतनाको कारणले मात्र न्यूनिकरण गर्न सकिनेछ ।’ सबैको साथ सहयोग र सचेतनाको माध्यमबाट आत्महत्या न्युनिकरण गरिनुपर्ने उनले बताए । 

‘आत्महत्या पनि रोग हो, लागू औषध पनि रोग हो, त्यो कुरा नियन्त्रण गर्नका लागि विशेष सचेतना अभियान नै चलाउनु पर्छ,’ गिरी भन्छन्, ‘त्यसका लागि हामी प्रदेश सरकारसँग समन्वय गरेर कार्यक्रम सुरू गरेका छौं ।’