विजयपुर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अण्डर–१५ महिला साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा भगवती राना मगरलाई नियुक्त गरेको छ ।

बुधबार एन्फाले बङ्गलादेशमा आयोजना हुने अण्डर १५ महिला साफ च्याम्पियनसिपका लागि भगवतीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । दक्षिक्ष एशियाली फुटबल महासङ्घ (साफ) को कार्यक्रम अनुसार आगामी कार्तिक १५ गतेदेखि २६ गतेसम्म बङ्गलादेशमा प्रतियोगिता सञ्चालन हुँदैछ ।

साफ अण्डर १५ च्याम्पियनसिप २०२२ मा सहभागिताका लागि नेपाललाई पनि आमन्त्रण गरेको छ ।  साफ यु १५ वुमेन्स च्याम्पियनशिप फुटबल प्रतियोगितामा सहभागि हुने नेपाली महिला युवा (यु १५) टिमको मुख्य प्रशिक्षकमा भगवती मनोनयन भएकी हुन् ।

यस्तै, सहायक प्रशिक्षकको जिम्मेवारी मङ्गल महर्जनलाई दिइएको छ । बिहीबार उनीहरुलाई काठमाण्डौँ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईले नियुक्ति पत्र प्रदान गरेका छन् ।

प्रशिक्षक भगवती राना मगर एक मात्र नेपालको  ए.एफ.सी 'ए' लाइसेन्स सर्टिफिकेट प्रशिक्षक हुन् । गत २०२२ को मार्च महिनामा कतारमा  ए.एफ.सी 'ए' लाइसेन्स सर्टिफिकेट लिन सफल भएकी थिइन् ।

bhagirana