धरान । धरान–१६ स्थित नवोदय प्लस टु, युएन कलेजले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।
कलेजका अध्यापक तथा युएन नवोदय हेल्पिङ हेन्ड्सका संयोजक रामबहादुर लिम्बूको नेतृत्वमा कलेजको विज्ञान सङ्कायका विद्यार्थीहरूको टोलीले शुक्रबार आविष्कार केन्द्रमै पुगेर केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
विज्ञान सङ्कायका संयोजक आकाश अधिकारीलगायत ५० विद्यार्थीहरूलाई आविष्कार केन्द्रका प्रवीन बोहरा र सौरवसिंह चौधरीले केन्द्रले गरिरहेको कामको बारेमा जानकारी दिएका थिए । कलेजका विद्यार्थी दिपेन भण्डारी, सेबिका राई, सुसन जिमी, अंशु लिम्बूलगायतले आविष्कार केन्द्रको बारेमा विभिन्न प्रश्नहरू गरेका थिए ।
सो प्रश्नको जवाफ दिँदै केन्द्रका अध्यक्ष डा. पुनले आविष्कार केन्द्रलाई सघाउन नागरिक स्तरबाट स्वतः स्फूर्त रूपमा आर्थिक सहयोग जुटेको बताए । उनले वैज्ञानिक खोज अनुसन्धान गर्न र नेपाली जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको बताए ।
विद्यार्थीसँगको अन्तरक्रियामा केन्द्रका अध्यक्ष डा. पुनले विभिन्न वस्तुको आविष्कार गरेर उत्पादन बढाउनु पर्ने र त्यसबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिए । नेपालमा आविष्कारलाई प्रोत्साहन गर्न र नयाँ आविष्कारका लागि नवीन सोच र योजना भएकाहरूलाई काम गर्ने ठाउँका साथै पुँजी, प्रविधि र प्रोत्साहन दिने काम आविष्कार केन्द्रले गर्ने उनले बताए ।
आविष्कारले आर्थिक विकास गराउने र त्यसैले रोजगारी सिर्जना पनि गर्ने भएकाले आविष्कार कुनै पनि देश समृद्धिको महŒवपूर्ण आधार भएको उनले बताए । विद्यार्थीहरूले सोधेका प्रश्नको जवाफ दिँदै पुनले इनोभेसन गर्नेहरू देशका लागि बहुमूल्य पुँजी भएकाले उनीहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए । राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म गरेका सबै काम जनताले स्वेच्छिक रूपमा गरेको आर्थिक सहयोगबाट नै सम्पन्न भएका बताए ।
त्रिभुवन विश्वविद्यालय परिसरभित्र राष्ट्रिय आविष्कार केन्द्र नेपाल कार्यालय रहेको छ । पछिल्लो समयमा यसको चर्चा देश विदेशमा समेत पुगेको छ । विगत दुई वर्षदेखि सञ्चालनमा आएको राष्ट्रिय आविष्कार केन्द्रले आफ्नो नियमित आविष्कारका कार्यहरू गरिरहेको छ ।