हनी ट्र्याप प्रविधिको विकाससँगै मौलाएको एउटा अपराधको रूप हो । यसमा कुनै युवतीको प्रयोग गरी पुरुषहरूलाई फसाई अपहरण तथा फिरौती मागिन्छ । यस्ता खालका अपराधमा अधिकांश युवतीको प्रयोग गरिन्छ । सूचना प्रविधिको विकाससँगै अपराधका ‘आयाम’ हरू पनि परिवर्तन हुँदै गएका छन् । विश्वमा सन् १९९० देखि इन्टरनेटको विकास भएयता अपराधमा पनि द्रुततर परिवर्तन हुँदै गएको छ । नेपालमा पछिल्ला केही वर्षयता सुनिँदै आएको हनी ट्र्याप अपराधमा प्रविधिको प्रयोग हुँदै आएको छ । अपराधको परिभाषालाई मध्यनजर गर्ने हो भने यो ‘साइबर अपराध’ को कोटीमा राख्दा पनि फरक पर्दैन । किनकि साइबर अपराध आफैमा फौजदारी अपराध हो । कुनै पुरुषलाई फसाउनका लागि युवतीहरूले प्रविधिलाई नै आत्मसात गर्छन् अनि त्यही प्रविधिको माध्यमबाट सम्बन्ध बढाउँछन् र अपराधमा भागीदार हुन्छन् । त्यसकारण यो अपराध साइबर अपराधसँग पनि प्रत्यक्ष जोडिएको छ । तर, अहिले पनि यस अपराधलाई अपहरण तथा फिरौतीसँग जोडेर मुद्दा चल्दै आएको छ, चलाइँदै आएको छ ।
साइबर अपराध अहिलेको जल्दोबल्दो मुद्दा हो । यसमा कम्प्युटर, मोबाइल, इन्टरनेटका साथै कम्प्युटरजन्य अन्य सामग्रीको प्रयोग गरी अपराध गरिन्छ । हनी ट्र्याप खाले अपराधमा पनि यी माथिका सामग्रीको कतै न कतै प्रयोग भएकै हुन्छ । नत्र यो अपराध गर्न एउटा अपराधी मानसिकताका व्यक्तिका लागि सम्भव हुँदैन । झापाको बिर्तामोडमा घटित विद्यार्थी अपहरण घटना हनी ट्र्यापबाट मात्रै सम्भव भएको छ । भलै, साझेदारी व्यवसायमा खट्पट भएपश्चात् रिसइबी साध्न गरिएको देखिएको छ । तर, यहाँ प्रविधि र प्रविधिजन्य सामग्रीको प्रयोग गरिएको छ । यसकारण यो मुद्दा एउटा फौजदारी मुद्दा मात्रै पनि होइन । यो साइबर अपराधको एउटा विद्रुप रूप पनि हो । यसकारण यसलाई साइबर अपराधसँग जोडेर किन नहेर्ने ? अपराधीले अपराध कर्म गर्दा जे जस्ता उपायहरू अपनाएका छन् । ती साइबर अपराधसँग जोडिने विषयहरू छन् । हाम्रो देशमा यस खालको अपराध घट्दो हैन, बढ्दो क्रममा छ । झापामा मात्रै हनी ट्रयापका तीनवटा मुद्दाहरू भइसकेका छन् । तर, त्यसलाई साइबर अपराधसँग जोडेर अहिलेसम्म हेरिएको छैन । अब हेर्न जरुरी छ ।
नेपालमा साइबर अपराध हुन थालेको धेरै भइसकेको छ तर उजुरीका लागि सहज तथा सुलभ हुन सकेको छैन । देश सङ्घीयतामा प्रवेश गरेको दशक बित्न लाग्दा पनि साइबर अपराधको उजुरी दिने निकाय चाहिँ काठमाडौँ केन्द्रित छ । काठमाडौँबाट बाहिर सर्वसुलभ नहुँदा सेवाग्राहीले उजुरी दिन सकेको अवस्था छैन र प्रहरी प्रशासनमा पनि साइबर अपराधप्रतिको बुझाइ एकदमै सङ्कीर्ण देखिन्छ । इन्टरनेटको माध्यमबाट हुने ‘बुलिङ, फिसिङ, पाइरेसी, कपीराइट, पेटेन्ट, ट्रेडमार्क आदि’ मात्रै साइबर अपराध हुन् भन्ने बुझाइ छ । यहाँ स्मरणीय के भने फिसिङ नै हनी ट्«याप हो । जहाँ अपराधीले आपराधिक कर्म गर्नका लागि ‘जाल’ फाल्छन् । त्यसो हुँदा हनी ट्र्यापलाई फिसिङ मुद्दाको रूपमा हेरी साइबर अपराधको एङ्गलबाट पनि कारबाही गर्नुपर्छ र साइबर अपराधमा उजुरी दिने साथै कारबाही गर्न प्रहरीका सबै युनिटलाई अधिकार प्रत्यायोजन गर्नुपर्छ । अनि मात्रै साइबर अपराधलाई नियन्त्रण गर्न केही हदसम्म सजिलो हुन्छ । त्यसतर्फ नेपाल सरकारले मातहतको प्रहरी युनिटमा दक्ष जनशक्ति विकास गर्न जरुरी छ ।