धरान । धरान–१२ स्थित एम्स एकेडेमी नेशनल कलेजले प्रदेश १ को नाम कोसी प्रदेश राखेकोमा स्वागत गरेको छ ।

कलेज परिसरमा कोसी प्रदेशमा रहेका १४ वटा जिल्ला अङ्कित नक्सा निर्माण गरी दीप प्रज्वलन गरी खुसीयाली मनाएको हो । कलेजका प्राचार्य मित्र तामाङले दीप प्रज्वलन गरी प्रदेशले नाम पाएकोमा स्वागत गरे ।

यस्तै कलेजका व्यवस्थापन सङ्कायतर्फका प्रमुख दुर्गा सुवेदीले लामो प्रसव पीडाबाट प्रदेश १ ले नाम पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘अन्य प्रदेशले छिट्टै नाम पाए । त्यसको खास महत्व रहेन । तर, हाम्रो प्रदेशले लामो समयपछि नाम पाएको छ । हिजो रातिदेखि हामी कोसीबासी भएका छौँ ।’

कोसी प्रदेश नाम राखेकोमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको थियो । तर, कलेजले सार्वजनिक बिदाको महŒव विद्यार्थी, अभिभावक सबैलाई बुझाउनका लागि कलेज सञ्चालन गरिएको उनले बताए । प्रदेशका विषयमा कक्षा १२ को सामाजिक विषयमा पनि समावेश छ ।

१४ जिल्ला रहेको कोसी प्रदेशमा १ सय ३७ वटा स्थानीय तह छन् । यहाँ ९३ जना प्रदेश सांसद् छन् । ती सांसद्को दुईतिहाइ मतका आधारमा नाम राख्न सक्ने अधिकार संविधानमा दिएको छ । सोही आधारमा जनताको प्रतिनिधित्व गरी गएका प्रदेशसभा सदस्यको बहुमतले कोशी प्रदेश नाम राखेको हो ।

त्यसक्रममा विद्यार्थीहरूले पनि खुसीयाली व्यक्त गरेका थिए । प्रदेश १ ले ६३ महिनापछि मात्रै नाम पाएको हो । राज्य पुनर्संरचनाअन्तर्गत सातवटा प्रदेशका विभक्त रहेको नेपालमा प्रदेश नाम र राजधानीको तोक्ने अधिकार सम्बन्धित प्रदेशको दुईतिहाइ सांसद्लाई छ । कोसी प्रदेशको राजधानी विराटनगर रहेको छ ।