बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएयता जङ्गल क्षेत्रमा अस्पतालजन्य फोहोर व्यवस्थापन गर्दै आएको छ । यो तीस वर्षदेखि निरन्तर छ । यसलाई व्यवस्थित गर्नेतर्फ बीपीले ध्यान दिएको पाइँदैन । फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी ठेकेदारलाई दिएको छ र ठेकेदार कम्पनीले पनि आफ्नै हिसाबले व्यवस्थापन गर्दै आएको छ । तीस वर्षअघि र आजको अवस्था उस्तै र उही प्रकृतिको छैन । जहाँ फोहोर डम्पिङ गरिन्छ । करिब ५ सय मिटर हाराहारीमा बस्तीहरू बढेका छन् । जङ्गलहरू छन् । जङ्गलमा वनस्पति तथा अन्य प्राणी पनि छन् । ती प्राणीहरू तथा रूखहरूप्रति कति अन्याय भइरहेको छ, त्यसको लेखाजोखा छैन । जब बस्ती बढ्यो, तब मात्रै यो मुद्दा मानवीय बन्न थालेको छ । वातावरणको संरक्षणको दायित्व हामी सबैको हो, न कि कुनै एउटा अमूक संस्थाको । वातावरण संरक्षण ग¥यौँ भने प्राणी तथा चराचरजगत्का लागि फलदायी हुन्छ, नत्र यसको चपेटामा हामी पर्दै जान्छौँ । जसको सामना अहिले हामी वैश्विक रूपमा पनि अनुभूति गर्दै आइरहेका छौँ ।

तीस वर्षदेखि बीपीले जहाँ फोहोरलाई व्यवस्थापन गर्दै आएको थियो । त्यो स्थान परिवर्तन नै आजको आवश्यकता बन्दै गएको छ । हिजो जति मात्रामा फोहोर उत्सर्जन हुन्थ्यो आज त्यसको कयौँ गुणा फोहोर उत्सर्जन हुँदै आएको छ । दैनिक ४ हजारदेखि ८ हजार केजी अस्पतालजन्य फोहोर निष्काशित हुँदै आएको छ । यस्तो अवस्थामा बीपीले दीर्घकालीन निकास नदिने हो भने भोलि बस्तीबासीलाई ठूलो समस्या पर्न थाल्छ । अहिले बीपीकै बी ब्लकसम्ममा पनि यसले समस्या ल्याउँदै गएको छ । यसको उचित व्यवस्थापन नगरिने हो भने भोलि अर्को समस्या निम्तिन सुरु हुन्छ । फोहोर व्यवस्थापन आजको आवश्यकता हो । फोहोरलाई उचित व्यवस्थापन गर्न सकिएन भने त्यसले वातावरणलाई गम्भीर क्षति पु¥याउँछ । त्यसले रोग, भोक तथा अनेकन खालका समस्या निम्त्याउँछ । यसलाई नियन्त्रण गर्ने जिम्मा सम्बन्धित संस्था बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हो । उसले आजबाटै यसलाई सही ढङ्गले व्यवस्थापन गर्न पहल थाल्नुपर्छ । बीपी शुद्धीकरण अभियानले पनि फोहोरको विषयलाई आवाज उठाएको थियो । उक्त आवाजलाई प्रधानमन्त्री कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको नेतृत्वमा बनेको समितिले पनि समेटेको छ ।

फोहोरलाई मोहर बनाउने अभियान थाल्नुपर्छ भन्ने शुद्धीकरण अभियानको आवाजलाई अब निष्कर्षमा पुर्याउन आवश्यक छ ।अर्याल नेतृत्वको समितिमा रहेका बीपी प्रतिष्ठानकै प्रा.डा. सञ्जीवकुमार शर्मा आज निमित्त उपकुलपति छन् । उनी आफै पनि संलग्न भएकाले फोहोर व्यवस्थापनलाई एउटा मुद्दाका रूपमा उठाउनु पर्छ । उनी आफू उपकुलपति भएकै बेलामा समस्यालाई हल गर्नेतर्फ लाग्नुपर्छ । बीपीबाट दुई किसिमका फोहोरहरू उत्सर्जन भइरहेको अवस्था छ । एउटा त अस्पतालजन्य फोहोर, जुन एकदमै हानिकारक मानिन्छ । हानिकारक फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी स्वयम् सम्बन्धित संस्थाको हो । सम्बन्धित संस्थाले नै फोहोरको व्यवस्थापन गर्नुपर्ने छ भनी फोहोरमैला व्यवस्थापन ऐन २०६८ को परिच्छेद २ को दफा ७ मा उल्लेख छ । यसकारण पनि अब ढिला नगरी बीपीले फोहोर व्यवस्थापन गर्न आजैबाट पहल थाल्नुपर्छ । यो बीपीका लागि मात्रै हैन, वातावरणकै हिसाबमा पनि उपयुक्त र श्रेयष्कर हो । वातावरण संरक्षण र प्रवर्धन गर्ने दायित्व हामी सबैको हो ।