सुनसरी । कोसी गाउँपालिका–५ स्थित कुम्याहीमा केही दिनअगाडिबाट सञ्चालनमा आएको बर्थिङ सेन्टरमा पहिलो बच्चा जन्मदिने आमा पुरस्कृत भएकी छन् ।

सामुदायिक स्वास्थ्य इकाइ कोसी गाउँपालिका वडानम्बर ५ कुम्याही प्रसूति सेवा केन्द्रको उद्घाटन गर्ने क्रममा कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले घोषणा गरेअनुसार पहिलो पटक प्रसूति गराउन सफल भएकोमा स्थानीय नइमुद्दिन मियाँकी श्रीमती इसरत जहाँलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको कोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दङ्गालले जानकारी दिए ।

इसरत जहाँले सामुदायिक स्वास्थ्य इकाइ कोसी गाउँपालिका वडानम्बर ५ कुम्याहीस्थित प्रसूति सेवा केन्द्रमा बिहीबार बिहान ६ बजेर ५ मिनेटमा छोरालाई जन्म दिएकी थिइन् ।

अध्यक्ष अन्सारीले उद्घाटन गर्दै प्रसूति गृहमा पहिलो बच्चा जन्मदिने आमालाई प्रोत्साहन स्वरूप नगद ५ हजार दिने घोषणाअनुसार अध्यक्ष अन्सारीको निर्देशनअनुसार आफूले इसरत जहाँलाई बिहीबार सो रकम हस्तान्तरण गरेको स्वकीय सचिव धर्मेन्द्र विश्वासले जानकारी दिए ।

यस्तै सोही महिलालाई आफूले गरेको घोषणाअनुसार कोसी गाउँपालिकाका उपप्रमुख अनितादेवी यादवले नगद ३ हजार र कोसी गाउँपालिका वडानम्बर ५ का अध्यक्ष शाह जमालले २५ सय रुपैयाँबाट प्रसूति गृहमा पहिलो बच्चा जन्मदिने आमालाई पुरस्कृत गरेको सामुदायिक स्वास्थ्य इकाइ कोसी गाउँपालिका वडानम्बर ५ कुम्याही प्रसूति सेवा केन्द्रका साबिर आलमले जानकारी दिए ।