धरान । धरानको पिण्डेश्वर विद्यापीठमा बिहीबारबाट तीनदिने अनुसन्धान प्रविधि तालिम सुरु भएको छ ।
विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइको आयोजनामा अनुसन्धानलाई गुणस्तरीय बनाउन तालिम आयोजना गरिएको संयोजक डा. महानन्द तिमिल्सिनाले जानकारी दिए । तालिमको उद्घाटन नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाले गरेका थिए । अनुसन्धानका प्राविधिक, व्यावहारिक र सैद्धान्तिक पक्षको विषयमा जानकारी दिइँदै छ । तालिमको पहिलो दिन डा. अच्यूत कट्टेलले शोधप्रस्तावका प्रमुख अङ्गका विषयमा जानकारी गराएका थिए ।
त्यस्तै शोधसामग्री सङ्कलन र व्यवस्थापनका विषयमा डा. दीपक न्यौपानेले सहजीकरण गरेका थिए । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा गरिएको कार्यक्रमअन्तर्गत शुक्रबार ६ जनाले अनुसन्धानका विभिन्न विषयमा जानकारी गराउने संयोजक डा. तिमिल्सिनाले जानकारी दिए ।
त्यस्तै तेस्रो दिन अर्थात् समापनको अवसरमा दुईजनाको प्रस्तुति रहेको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. सञ्जीव शर्माले समापन गर्ने कार्यक्रम रहेको छ ।