धरान । तेक्वान्दो प्रशिक्षक मोहन विश्वकर्माले जब राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा प्रवेश पाए, तब उनले गाउँ–गाउँमा तेक्वान्दोलाई पनि प्रवेश गराए ।

२०५२ सालमा तेक्वान्दो प्रशिक्षकमा नियुक्त भएपछि उनले समुदायमा खेलकुद भन्ने नाराका साथ दुर्गम गाउँहरूमा तेक्वान्दो प्रशिक्षण दिन थालेका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक दिलाउन सफल उनले भोजपुर र सुनसरीको इटहरीका गाउँ–गाउँमा पुगेर युवाहरूलाई तेक्वान्दो सिकाएका थिए ।

त्यसयता उनले विभिन्न ठाउँमा पुगेर बालबालिकालाई तेक्वान्दो सिकाउँदै आइरहेका छन् । उनका अनुसार कोशी प्रदेशको भोजपुर, झापा, तेह्रथुम, ताप्लेजुङ र कर्णाली प्रदेशको कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोटी, बैतडीसम्मका ग्रामीण क्षेत्रमा पुगी तेक्वान्दो खेलको विकास गरेका छन् ।

यस तालिमले बालबालिकालाई शारीरिक तथा मानसिक विकासको साथै अनुशासित जीवन विकासको लागि सहयोग पुगेको उनी बताउँछन् । उनले समुदाय र विद्यालयहरूमा तेक्वान्दो खेलको प्रशिक्षणलाई निरन्तरता दिइरहेका छन् । विश्वकर्माले कोरियाको तेक्वान्दो कुकी वान हेड क्वार्टरबाट पाँचौँ डन डिग्रीसमेत हासिल गरिसकेका छन् ।

त्यस्तै जापानमा सम्पन्न अन्तरमहादेशीय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट निर्णायकको भूमिकासमेत निर्वाह गरेका थिए । त्यस प्रतियोगितामा निर्णायकमध्ये उत्कृष्ट निर्णायक घोषित पनि भएका थिए । उनी भन्छन्, ‘अझै समुदायस्तरमा तेक्वान्दो खेल पुर्याउने योजना छ ।’