धरान । धरान–५ स्थित डीपी बिलिभर्स इङ्लिस स्कुलको बिलिभर्स स्काउट दलले विश्व वातावरण दिवसको अवसरमा सरसफाइ, वृक्षरोपण कार्यक्रम गरेको छ ।
स्कुलका प्रिन्सिपल सन्जीव बान्तवाले मानव जीवनका लागि वातावरणको महत्वबारे प्रकाश पारेका थिए । उनले पृथ्वी मानवको साझा घर भएकाले वातावरणको संरक्षणमा सबै एकजुट हुनुपर्ने बताए । उनले वातावरण संरक्षणका लागि प्लाष्टिकजन्य वस्तुको कम प्रयोग गर्न पनि आग्रह गरे ।
स्काउट दलले विद्यालयपरिसर र वरपर सरसफाइ, बगैँचाको गोडमेल तथा वृक्षरोपण गरेको स्कुलका सहायक प्रिन्सिपल कुर्मित लेप्चा बान्तवाले जानकारी दिए । उनले बिरुवा रोप्ने मात्रै नभई हेरचाह, गोडमेल र मलजल आवश्यक रहेको बताए । बिरुवाजस्तै विद्यार्थीहरूलाई पनि हेरचाह, गोडमेल र मलजलको आवश्यक हुने उनले बताए । विद्यार्थीहरूलाई वातावरणसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए । कार्यक्रममा बिलिभर्स स्काउट दलका स्काउटर अविषेक गहतराजले कार्यक्रमको संयोजन गरेका थिए ।
यस्तै धरान–१५ को छिमेकी टोल विकास समितिको आयोजनामा पनि रानी पेट्रोलपम्पदेखि पिण्डेश्वरी चोक आसपास सफाइ गरिएको छ । संस्थाका अध्यक्ष रमेश घिमिरेको नेतृत्वमा संस्थाका पदाधिकारी तथा टोलवासीहरू मिलेर सफाइ कार्यक्रम गरिएको हो ।