धरान । नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी सङ्घ केन्द्रीय कार्यालय धरानले बाह्रौँ स्थापना दिवसको अवसर पारेर आँखा तथा स्वास्थ्य जाँच शिविरको आयोजना गरेको छ ।
बिहीबार धरान–४ स्थित आफ्नै कार्यालय परिसरमा आँखा तथा स्वास्थ्य परीक्षण शिविरसहित बाह्रौँ स्थापना दिवस मनाएको हो । सङ्घका महासचिव कुमार श्रेष्ठका अनुसार आँखा शिविरमा एक सय १८ जना लाभान्वित बनेका छन् । यस्तै स्वास्थ्य जाँचमा ६६ जनाले सेवा लिएका छन् । धरान आई केयर सेन्टर प्रालिको सहकार्यमा गरिएको शिविरमा मनोजकुमार सुन्दासले जाँच गरेका थिए । त्यस्तै स्वास्थ्य शिविरमा सुनसरी पोलिक्लिनिक एन्ड डाइग्नोसिस सेन्टर प्रालिको सहकार्यमा स्वास्थ्य जाँच गरिएको हो । जनरल फिजिसियन डा. रोशन झाले स्वास्थ्य जाँच गरेका थिए । बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।
सङ्घमा आबद्ध सेवा निवृत्त कर्मचारीहरू, आजीवन सदस्य, सल्लाहकारहरूले सेवा लिएका थिए । स्वास्थ्य शिविरको उद्घाटन धरान–४ का वडाध्यक्ष धनबहादुर राईले गरेका थिए । त्यस्तै स्थापना दिवसको उद्घाटन धरान–५ का अध्यक्ष एवम् संस्थाका पूर्व उपाध्यक्षसमेत रहेका मनप्रसाद लिम्बूले गरेका थिए । स्थापना दिवसको अवसरमा नयाँ बनेका आजीवन एक सय ५४ सदस्यहरूलाई प्रमाण–पत्र वितरण गरिएको अध्यक्ष मछिन्द्र तामाङले जानकारी दिए ।
त्यस्तै संस्थाको राहत कोषमा ९६ जनाले सहयोग गरेका छन् । सङ्घमा हाल ८ सय ६ जना आजीवन सदस्य रहेको महासचिव श्रेष्ठले जानकारी दिए । सङ्घका सदस्य सीतादेवी साहले श्रीमान् रउदी साहको सम्झनामा ५१ हजार ५ सय १५ रुपैयाँ सहयोग गरेकी छन् । सङ्घमा सेवा निवृत्त प्राध्यापक, शिक्षक, सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती, वित्तीय सङ्घ–संस्थाका कर्मचारी आबद्ध हुँदै आएका छन् । यसको केन्द्रीय कार्यालय नै धरान–४ खैरेनीटारमा रहेको छ ।