म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले एसईई परीक्षा पास गरेका छन् । पढाइ छाडेको २१ वर्षपछि एसइई दिएका उनी परीक्षामा उत्तीर्ण भएका छन् ।

माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण भएका हुन् । 

विसं २०५८ मा एसएलसी परीक्षामा सामेल भएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाडेका थिए । एसएलसीमा फेल भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताएका थिए । 

उनी २०६९ सालमा घर फर्किएका थिए ।

घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका संघ संस्थामा आबद्ध भएका थिए । उनी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । 

सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकता महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ ।

– रासस