कहिलेकाहीँ धार्मिक आस्थाको नाममा चर्च वा मन्दिर वा कुनै धार्मिक स्थलभित्र महिला तथा बालबालिकाहरुमाथि दुव्र्यवहार गरिएको पाइन्छ । धर्मको नाममा स्वर्ग र नर्कको डर देखाएर पाष्टरले मनपरी गरेको भन्ने अहिले सामाजिक सञ्जाल तथा धरान बजारमा सर्वत्र चर्चाको विषय बनेको छ र निन्दा गर्न थालिएको छ ।

२०५५ सालतिर ब्लाष्टमै एउटा समाचार प्रकाशित भएको थियो, कुनै एक महाराजले जसको शरीरको अङ्ग छोयो, ऊ बाहेक अरुले त्यो अङ्ग चलाउन र छुन नपाउने भन्ने थियो । त्यस विषयमा धारावाहिक समाचार प्रकाशित भएको थियो । धर्मको आडमा यदाकदा हुने यस्ता घिनौना र निन्दनीय क्रियाकलापबाट भविष्यका कर्णधार भनिएका बालबालिकाको मस्तिष्कमा कस्तो असर पर्छ ? धर्मको नाममा बालबालिकालाई कुनै धार्मिक स्थलभित्र त्यो पनि आधा नाङ्गै  पारेर उफार्न, नचाउन मिल्छ ? बालबालिकाहरुको मनोविज्ञानमा अहिलेदेखि नै धार्मिक जडसूत्रवादी कुराहरु हालिदिएर कस्तो समाजको कल्पना हामी गर्न खोजिरहेका छौं । स्वभाविक हिसाबले मस्तिष्कको विकास हुने क्रमका ती बालबालिकाहरुलाई डर, त्रास र लोभ देखाएर आफू अनुकूलको क्रियाकलाप गर्न लगाउनु अप्ठेरो हु“दैन, त्यो पनि चर्चभित्र र अझ त्यो पनि परमेश्वरको नाम लिएपछि झन सजिलो हुने नै भयो ।

धार्मिक आस्थाको स्थलभित्र हुने यस्ता घटनाहरुले मानिसको मनमा घृणा पैदा गर्छ । विश्वका केही ठाउ“हरुमा यस्ता घटनाहरु देख्न र सुन्न पाइने गरेको छ । यही साल अमेरिकाको टेक्सासस्थित गेटवे चर्चका संस्थापक रोबर्ट मोरिसविरूद्ध १२ वर्षे बालिकाले यौन दुव्र्यवहारको आरोप लगाएको घटनाको अनुसन्धान अहिले पनि भइरहेको छ । सन् २०२२ को हिल्सङ चर्चका संस्थापक ब्रायन ह्युस्टनले र २०२१ मा डल्लासस्थित चर्चका पूर्व पाष्टर रिड बोगार्डले महिलाहरुस“ग अनुचित व्यवहारको आरोप लागेपछि दुवैजनाले राजीनामा नै दिनुपरेको थियो । धर्मको आडमा घिनौना कर्तुतको सर्वत्र आलोचना भएको थियो । सन् २०१९ मा एउटा प्रतिवेदनले दुई दशकभित्र करिब ३ सय ८० चर्चका प्रमुखहरु र स्वयम्सेवकहरुले महिलाहरुस“ग यौन दुव्र्यवहार भएको आरोप लागेको उल्लेख गरिएको छ । अष्ट्रेलियाको जिलङ रिभाइभल सेण्टर, फ्रान्सको अबेरे पियरे चर्च र टेक्सासकै क्रस टिम्बर्स चर्चहरुमा यस्तै प्रकृतिका सङ्गीन आरोप लागेपछि कानूनी कारबाही गरिएको थियो । 

धरानको हिसप चर्चमा बालबालिकाहरुलाई लगेर अर्धनग्न बनाई परमेश्वरको नाममा आफूले भने जस्तो गरी काम गराउनु निन्दनीय छ । यस्तो क्रियाकलापमा तुरून्त बन्देज लगाउनु जरूरी हुन्छ । भारतको केरलाको सब्रिमाला मन्दिरमा यस्तै घटनाहरु हुन्छन् भन्ने ध्येयले त्यहा“को सर्वोच्च अदालतले १० देखि ५० वर्षका (रजस्वला हुने ) उमेरका किशोरी तथा महिलाहरुको प्रवेश नै निषेध गरेको छ । जुनसुकै बहानामा वा बाइबल, पुराण, कुरान वा अन्य कुनै ग्रन्थले कथनी गरेको भन्दैमा भरखर संसार बुझ्दै गरेका बालबालिकाहरुमा भावनात्मक शोषण गर्ने गरिन्छ भने त्यस्तो क्रियाकलापलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही सुरू गर्नुपर्छ । नत्र औंलो दिँदा डु“डु“लो निल्ने रोग हाबी नहोला भन्न सकिन्न । आस्थाको नाममा मनिपरी गर्ने छुट कसैलाई हुँदैन र हुनुहँुदैन ।