विराटनगर (ब्लाष्ट) कक्षा १२ को जारी परीक्षामा मोरङका विभिन्न परीक्षा केन्द्रमा ठूलो परिमाणमा एकै प्रकृतिका ‘मिनी’ चिट फेला परेपछि प्रशासनले सङ्गठित गिरोहको संलग्नताको आशङ्कामा गम्भीर अनुसन्धान थालेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले पछिल्लो तीन दिनमा दुई दर्जनभन्दा बढी केन्द्रमा गरेको निरीक्षणका क्रममा यस्तो तथ्य फेला पारेको हो । विराटनगरका मात्रै ६ वटा परीक्षा केन्द्रबाट झण्डै एक बोरा चिट बरामद गरिएको छ । बरामद चिटहरूको प्रकृति र छपाइको शैली जिल्लाभर एउटै पाइएको अनुगमन टोलीले जनाएको छ । “ठूला–ठूला गाइड र गेस पेपरहरूलाई प्रविधिको प्रयोग गरी डेस्कटपबाट अत्यन्तै सानो (मिनीमाइज) बनाएर जिल्लाभर वितरण गरिएको देखिएको छ” मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले भने, “चिटको स्वरूप हेर्दा यसमा कुनै सङ्गठित गिरोह नै सक्रिय रहेको आशङ्का छ, हामी यसबारे सूक्ष्म अनुसन्धान गरिरहेका छौँ ।”
‘संस्थागत सेटिङ’ को आशङ्का
विराटनगर र सुनसरीका केही नाम चलेका निजी विद्यालयहरूले आफ्ना विद्यार्थीलाई उत्तीर्ण गराउन परीक्षा केन्द्र र केन्द्राध्यक्ष नै ‘किन्ने’ गरेको गम्भीर आशङ्कामा प्रहरीले गोप्य अनुसन्धान थालेको छ । अनुगमनका क्रममा कतिपय केन्द्रमा ‘संस्थागत सेटिङ’ मार्फत् नै चिट चोराउने गरिएको प्रारम्भिक सङ्केत भेटिएको सुरक्षा स्रोतको दाबी छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार बरामद चिटहरू कुनै व्यावसायिक प्रेस वा कम्प्युटरमा दक्ष व्यक्तिले तयार पारेको जस्तो देखिन्छ । विद्यार्थीले व्यक्तिगतरूपमा बनाउनेभन्दा फरक र व्यावसायिक ढङ्गले प्रिन्ट गरिएकाले यसमा ठूलो गिरोहको हात हुनसक्ने प्रजिअ कट्टेलको भनाइ छ ।
२० केन्द्राध्यक्षलाई स्पष्टीकरण
परीक्षाको मर्यादा कायम राख्न नसकेको भन्दै राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले २० जना केन्द्राध्यक्षलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए वा आगामी परीक्षामा गल्ती दोहोरिएमा उनीहरूलाई तत्काल बर्खास्त गरी वैकल्पिक व्यवस्था गर्ने चेतावनी बोर्डले दिएको छ । केही सरकारी र निजी विद्यालयका केन्द्राध्यक्षले निजी कलेजहरूसँग आर्थिक लाभ लिएर चिट चोर्न छुट दिएको सुरक्षा निकायको प्रारम्भिक अनुमान छ ।
बोर्डका निर्देशक प्रकाशकुमार खरेलले मोरङका १४ र सुनसरीका केही केन्द्रमा अत्यधिक अमर्यादित गतिविधि पाइएको जानकारी दिए । “पाँचवटा विशेष टोलीले गरेको आकस्मिक निरीक्षणका क्रममा केन्द्राध्यक्ष र निरीक्षकहरूकै प्रत्यक्ष संरक्षणमा चिट चोरी भएको भेटियो” खरेलले भने, “अहिलेसम्म १०–१२ जना केन्द्राध्यक्षले गल्ती नदोहो¥याउने प्रतिबद्धतासहित स्पष्टीकरण बुझाइसक्नुभएको छ । बाँकी परीक्षालाई पूर्ण मर्यादित बनाउन हामी कटिबद्ध छौँ ।” परीक्षामा भइरहेको यो सङ्गठित ‘अपराध’ मा ठूलो आर्थिक लेनदेन भएको आशङ्का गरिएकाले स्थानीय प्रहरीलाई छानबिनका लागि निर्देशन दिइएको छ । आर्थिक लेनदेनको पाटो पुष्टि भएमा थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई समेत अनुरोध गर्ने बोर्डको तयारी छ ।
विराटनगरस्थित राष्ट्रिय परीक्षा बोर्डले कोशी प्रदेशका १० जिल्लाका ६० हजार ७५ परीक्षार्थीहरूको व्यवस्थापन गरिरहेको छ । हालसम्म २४ वटा विद्यालयमा आकस्मिक निरीक्षण भइसकेको छ भने बाँकी परीक्षा केन्द्रमा सुरक्षा र अनुगमन थप कडा बनाइएको छ ।