काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा आज सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डले आवश्यक प्राविधिक तयारी पूरा भएपछि औपचारिक रूपमा नतिजा प्रकाशन गर्ने जनाएको छ ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षाको उत्तरपुस्तिका यसपटक परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो । यही व्यवस्थाका कारण नतिजा विगतभन्दा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ ।

यस वर्ष एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन दिएका थिए । जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए ।

परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेको बोर्डको तथ्यांकमा उल्लेख छ ।