विजयपुर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा कर्मचारी अभावमा सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो गरेका छन् ।
आवश्यकताभन्दा अत्यन्त न्यून कर्मचारीहरू (फार्मासिस्ट) हुँदा सेवाग्राहीहरूले सास्ती भोग्नुपरेको हो । सेवाग्राहीहरूलाई आवश्यक औषधि उपलब्ध गराउने नसकेको आरोप झेल्दै आएको बीपीको फार्मेसीमा तत्कालीन उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठको तोकआदेशमा २१ जना कर्मचारी करारमा नियुक्त गरिएको थियो ।
प्रत्येक ३–३ महिनामा नवीकरण गर्ने गरी नियुक्ति गरिएका कर्मचारीको केही दिनअघि १२ जना कर्मचारीको म्याद सकिएपछि फार्मेसीमा कर्मचारी अभाव भएको हो । सरकारले वैशाख २३ गते अध्यादेशमार्फत् प्रतिष्ठानका पदाधिकारीलाई पदमुक्त गरेपछि प्रतिष्ठानमा कार्यरत फार्मासिस्टहरूको नवीकरण हुन पाएन् । नवीकरण नहुँदा फार्मेसीमा जनशक्ति अभाव सिर्जना भएको र त्यसको प्रत्यक्ष असर सेवाग्राहीमा परेको हो । प्रतिष्ठानको फार्मेसीबाट औषधि खरिद गर्न पुगेका सेवाग्राहीले लामो समय लाइनमा बस्नुपरेको गुनासो गरेका छन् ।
लामो समयसम्म औषधि नपाएपछि विवादसमेत हुने गरेको छ । सेवाग्राहीको चाप थेग्न नसक्दा भएका कर्मचारीहरू सेवाग्राहीहरूलाई रुखो वचन गर्दा विवाद हुने गरेको हो । सानो नानी बोकेर औषधि लिन आएकी एक महिलाले आफू १२ देखि ५ बजेसम्म लाइन बस्नु परेको दुःखेसो गरिन् ।
अर्का सेवाग्राही धरान–६ पानबारीका पुण्यप्रसाद श्रेष्ठले दर्तादेखि औषधि खरिदसम्म निकै सास्ती खेप्नुपरेको बताए । आइतबार फार्मेसी अगाडि लाइनमा भेटिएका श्रेष्ठले भने, “दर्ता गर्न नै लामो समय लाइनमा बस्नुपर्छ । त्यसपछि औषधि खरिदका लागि पुनः लाइन लाग्नुपर्छ ।” उनले थपे, “लामो समय लाइन बस्यो तर कतिपय औषधि नै पाइँदैन । औषधि उपलब्ध छ कि छैन भन्ने जानकारी पहिले नै गर्ने व्यवस्था भए बिरामीले दुःख पाउनु पर्दैनथ्यो ।” धनकुटाका जीवन मगरले पनि घण्टौं लाइन बस्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
२१ कर्मचारीमध्ये १२ जनाको करार अवधि सकिएपछि यस्तो समस्या आएको हो । करार थप गर्ने पदाधिकारीहरू सरकारले हटाएपछि उनीहरू काममा आएका छैनन् । प्रतिष्ठानको फार्मेसीमा भएको अपचलन प्रकरणपछि काठमाडौँ सेक्युरिटी कम्पनीमार्फत् कार्यरत फार्मासिस्टहरू बर्खास्त भएका थिए । त्यसपछि प्रतिष्ठानले अल्पकालीन फार्मेसी सञ्चालन गर्न प्रत्येक तीन महिनामा नवीकरण गर्ने शर्तमा २१ जना फार्मासिस्ट नियुक्त गरेको थियो । केही दिनअघि ६ जना र शुक्रबारदेखि थप ६ जना गरी १२ जना फार्मासिस्टको तीन महिने करार अवधि सकिएको छ । पहिलेदेखि नै जनशक्ति अभाव रहेको फार्मेसीमा अहिले सातदेखि आठ जना कर्मचारीले मात्रै सेवा दिइरहेका छन् ।
ठूलो भीडभाड हुने फार्मेसीमा यति जनशक्तिले नभ्याएपछि कतिपय सेवाग्राही बिमाको औषधि पनि छाडेर निजी औषधि पसलतिर जाने गरेका छन् । सेवाग्राहीलाई सास्तीसँगै प्रतिष्ठानको आम्दानीसमेत निजी औषधि पसलहरूमा जाने गरेको छ ।
यता सरकारले हालै यिनुक्त गरेको प्रतिष्ठानका निमित्त निर्देशक डा. इन्द्र लिम्बूले सोमबारदेखि समस्या समाधान हुने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कुरा गरेर समस्या समाधान गर्ने तयारी गरिएको उनले बताए । उनले भने, “नवीकरण नहुँदा म पनि तनावमा थिएँ । मन्त्रालयसँग कुरा गरेर समस्या समाधान गर्ने कुरा भएको छ ।” करार थप गर्न स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयले निमित्त प्रमुखलाई करार थप गर्न अधिकार दिएको बताइएको छ ।