काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख महिनाभित्रै सार्वजनिक गर्ने जनाएको छ ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाका उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य परीक्षा सकिएलगत्तै सुरु गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैशाख २९ गतेभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखिएको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल ३५ जना कर्मचारी ‘टेबुलेसन’ कार्यमा सक्रिय छन् । उनका अनुसार निर्धारित समयमै नतिजा सार्वजनिक गर्ने तयारी तीव्र रूपमा अघि बढाइएको छ । ‘माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ अनुसार परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था रहेको छ । गत वर्ष नियमित र स्तरवृद्धि गरी कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । (रासस)