नेत्रविक्रम चन्द ‘विप्लव’ को खुलासा भन्दै ‘बालेन सरकार ढाल्न ३ करोड जनता सडकमा ल्याउँछौँ’ भन्ने दाबीसहितको भनाइ सामाजिक सञ्जाल फेसबुकमा फैलिएको छ । तर हाम्रो तथ्य जाँचले विप्लवले हालसालै तथा विगतमा पनि यस्ता अभिव्यक्ति कहीँकतै नदिएको पुष्टि भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘टिआरपी’ बढाउने उद्देश्यले बनाइएको पुष्टि भएको छ ।
के हो दाबी ?
डिबी ठकुरी (DB Thakuri) नामक फेसबुक प्रयोगकर्ताले मङ्गलबार (मे ५, २०२६) रातिको ९ः३३ बजे फेसबुकमा विप्लवको फोटोसहित भनाइ उद्धृत गर्दै इन्सेटमा बालेनको तस्बिर हालेर पोस्ट गरेका छन् । उक्त पोस्टमा ‘नेत्रविक्रम चन्द ‘विप्लव’ को खुलासा भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बालेन सरकार ढाल्न सक्ने चेतावनी दिएका छन् । उनले भनेका छन् “बालेन सरकार ढाल्न ३ करोड जनता सडकमा ल्याउँछौ ।” भनी लेखेका छन् ।
साढे सात हजार फलोअर्स रहेको डीबी ठकुरीको फेसुबकमा राखिएको उक्त पोस्टका विषयमा शुक्रबार तथ्य जाँच गर्दै गर्दा ६ हजार ९ सय रियाक्सन, चार हजार चार सय कमेन्ट र एक सय २७ पटक शेयर गरिएको छ ।
हेर्नुहोस् स्क्रिनसर्ट :

डीबी ठकुरीको फेसबुकमा राखिएको उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क ।
के हो तथ्य ?
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले पोडियममा मिडियाको सामु बोल्दै गरेको तस्बिरमा मुनिपट्टि क्याप्सनमा बालेन सरकार ढाल्न ३ करोड जनता सडकमा उतार्छौ भन्ने आशय व्यक्त गरिएको छ भने इन्सेटमा वृत्ताकारभित्र बालेनको तस्बिर पनि राखिएको छ । फेसबुक प्रयोगकर्ता डीबी ठकुरीको पनि वृत्तकारभित्र आफ्नो तस्बिर राखेका छन् ।
हामीले विप्लवले हालसालै वा विगतमा केही बोलेको छन् कि छैनन् भनी गुगल सर्च बारमा गई ‘बालेन सरकार ढाल्न ३ करोड जनता सडकमा उतार्छौ’ भन्ने किवर्ड हाली जाँच गर्यौँ । उक्त किवर्ड हाल्दा केही पनि तथ्य भेटेनौँ । पुनः ‘सरकार ढाल्छौँ’ किवर्ड हालेर चेक गर्दा विप्लवले विद्यार्थी सङ्गठन खारेज गर्ने विषयमा सरकारको जरो उखेल्ने भनी अभिव्यक्ति दिएको विषयमा प्रकाशित समाचारहरू पायौँ ।
हेर्नुहोस् स्क्रिनसर्ट :

जनआस्थामा प्रकाशित समाचारको अर्काइभ लिङ्क ।
विप्लवले बोलेको हो/होइन भनी रुजु गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई हामीले फोनसम्पर्क गरी सोध्यौँ । उनले बालेन सरकार ढाल्ने विषयमा महासचिवले कुनै पनि अभिव्यक्ति नदिएको र सामाजिक सञ्जालमा आएका कुरा फेक रहेको बताए ।
उनले सुकुम्बासीको हकमा चाहिँ सरकारलाई सुझाव दिने गरी प्रेस स्टेटमेन्ट केही दिनअघि ल्याएको तर त्यहाँ पनि सरकार ढाल्ने भन्ने विषय उल्लेख नभएको बताए । उनले महासचिवज्यूकै फेसबुक पेजमा गई हेर्नका लागि सुझाव दिए । त्यसपश्चात् हामीले महासचिव विप्लवको फेसबुक जाँच गर्दा उनले केही पनि अभिव्यक्ति नदिएको पायौँ ।
सन्दर्भ :
बालेन सरकारले सुकुम्बासी बस्ती हटाउँदै गरेको सन्दर्भमा नेताहरूको भनाइ राखेर जनतालाई भ्रम सिर्जना गर्न खोजेको पाइयो ।
तथ्य जाँच
दाबी : नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले बालेन सरकार ढाल्न ३ करोड जनता सडकमा उतार्छु भनी अभिव्यक्ति दिएको ।
दाबीकर्ता : डिबी ठकुरी नामक फेसबुक प्रयोगकर्ता ।
तथ्य : भ्रामक सूचना । पार्टीका प्रवक्ता प्रकाण्डसँग गरेको फोनवार्ताको क्रममा पार्टीका महासचिवले कुनै पनि अभिव्यक्ति नदिएको र फेक भएको दाबी गरेका छन् । त्यसैले बालेन सरकार ढाल्ने भनी दिएको अभिव्यक्तिको दाबी सत्य होइन ।