विजयपुर । सुनसरीको धरान–९ बगैचा लाइनस्थित रत्न होटलबाट ३६.९१ ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।
शनिबार लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी विराटनगर, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले होटलमा छापा मारेको थियो । प्रहरीले होटलको कोठा नम्बर ७ मा खानतलासी गर्ने क्रममा ३६.९१ ग्राम ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ बाँसखर्कका २० वर्षीय सन्देश तामाङ र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ ठाँटीका २ वर्षीय समिर दियाली रहेका छन् । उनीहरु काठमाडौं बस्दै आएका थिए । यस्तै, झापा बिर्तामोड नगरपालिका–६ नयाँ बसपार्कका २८ वर्षीय क्षितिज भण्डारी रहेका छन् । प्रहरीले उनीहरूको साथबाट बागमती प्रदेश ०२–०२७ प ३२८१ र बागमती प्रदेश ०२–०४३ प ४८८२ नम्बरका दुई मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।