विजयपुर । धरान उपमहानगरपालिकाले भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न आवश्यक तयारी पूरा गरेको जनाएको छ।
उपमहानगरले मालपोत कार्यालयबाट प्रवाह हुँदै आएका सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने तयारीस्वरूप मालपोत कार्यालय, धरानलाई औपचारिक पत्राचार गरेको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्णयअनुसार देशभरका ३५ स्थानीय तहलाई भूमि प्रशासन सेवा सञ्चालनका लागि छनोट गरिएको छ, जसमा धरान उपमहानगरपालिका पनि परेको छ।
उपमहानगरले भूमि व्यवस्थापन शाखाको प्रस्तावित संगठन संरचनाअनुसार आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार व्यवस्थापन गरिसकेको जनाएको छ। कार्यवाहक नगर प्रमुख ऐन्द्र विक्रम बेघाद्वारा हस्ताक्षर गरिएको पत्रमा सेवा सञ्चालनका लागि कार्यालय तयारी अवस्थामा रहेको उल्लेख छ।
भूमि प्रशासन सेवा स्थानीय तहबाटै सञ्चालनमा आएपछि जग्गा नामसारी, लिखत पास, रोक्का–फुकुवा, राजस्व संकलनलगायतका सेवा स्थानीयस्तरमै उपलब्ध हुने अपेक्षा गरिएको छ। यसले सेवाग्राहीलाई मालपोत कार्यालय धाउनुपर्ने बाध्यता घट्ने र सेवा प्रवाह थप सहज तथा छरितो बन्ने विश्वास गरिएको छ।
संविधानले स्थानीय तहलाई भूमि व्यवस्थापनसम्बन्धी कार्यमा अधिकार दिएको सन्दर्भमा संघीय सरकारको नीति अनुरूप सेवा विकेन्द्रीकरणको अभ्यास अघि बढाइएको हो। धरान उपमहानगरले यो जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफू तयार रहेको जनाएको छ।