पाँचथर / सदरमकाुमा फिदिम बजार क्षेत्रमा जडान गरिएका सडक बक्ति बिना सूचना काटिएको छ । सदरमुकाम सहित आसपासका गाविसमा विद्युत आपुर्ती गर्दै आएको फिदिम विद्युत सहकारी संस्थाले बक्यौता महशुल नतिरेको भन्दै सडक बत्ति काटिदिएको हो ।गत असार मसान्त सम्ममा सडक बत्ति बापतको ३ लाख ९८ हजार ६ सय रुपैंया फिदिम नगरपालिकाको नाममा महशुल तिर्न बाँकि रहेको सहकारीले जनाएको छ । त्यस्तै जिल्लाका सरकारी कार्यालय, केही उद्योग र फोटो स्टुडियो सँगै सञ्चार गृहहरुका नाममा समेत करिव २५ लाख रुपैंया बक्यौता असुल गर्न बाँकी रहेको सहकारीका प्रमुख रामचन्द्र खत्रीले बताए ।

बजार क्षेत्रमा जोडिएका करिब १ सय ५० मध्ये केही बत्ती बिग्रेर मर्मत गर्नुपर्ने तर बक्यौता बाँकी रहेका कारण मर्मत गर्न नसकिएको समेत खत्रीको भनाई छ । फिदिम नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले भने सडक बत्ति जडान गर्दा नगरपालिका र सहकारी बीच लिखित सम्झौता नभएकाले महशुल बुझाउँन समस्या भएको बताए ।बिना सम्झौता कार्यालयले रकम भुक्तानी दिँदा लेखा परिक्षकले बेरुजु लेख्ने र सम्झौता नै नभएको रकम भुक्तानी गर्दा कानूनी र नैतिक समस्या उत्पन्न हुने कार्यकारी अधिकृत राईले बताए ।
कार्यालयले बक्यौता रहेको महशुल कसरी भुक्तानी गर्ने भन्ने बिषयमा सरोकारवालाहरुसँग छलफल भइरहेको राईको भनाई छ ।सडक बत्तिको लाइन काटिए पछि फिदिम बजार क्षेत्रमा जोडिएका सिसि क्यामेराले रातको समयमा काम नगर्ने हुँदा अपराधिक गतिविधिले पश्रय पाउँने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । नगर क्षेत्रको सुरक्षाका लागि भन्दै केही महिना अगाडी मात्रै फिदिम बजारमा ३२ वटा सिसि क्यामेरा जडान गरिएको छ । जडान गरिएका सिसि क्यामेरालाई चौबिसै घन्टा सूचारु राख्न काटिएका सडक वत्तिको लाइन तत्काल जोड्नका लागि आवस्यक पहल भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी नकुल पोख्रेलले बताए ।