धरान /सन् २०१७ ले आइतबारबाट पाइला टेकेको छ । यही बाहानामा युवापूस्ता सन् २०१७ लाई सेलिब्रेट गर्दैछन् । युवापूस्तालाई बाहाना जो चाहिएको छ । केही गर्नको लागि युवापूस्तालाई केही चाहिदैन्, खाली बाहाना भए पुग्छ ।त्यही बाहाना सन् २०१७ ले जुराइदिएकै छ । रातभर जाग्राम बसेर नयाँ वर्षलाई स्वागत गर्ने चलन पुरानो भइसक्यो । फेसबुक, ट्विटर, इष्टाग्रामहरु नयाँ वर्षको स्वागतले नै भरिने चलन पनि नौलो होइन् ।
धरानकी मोडल तथा नायिका रेखा फागो लिम्बूले फेसबुकमा नयाँ वर्षका लागि ‘गेट रेडी टु रक एण्ड रोल’ भन्दै साथीहरुलाई आग्रह गरिसकिन् । प्रविधिको विकासले विश्वलाई यति नजिक बनाइदिएको छ कि नेपालमा भाले बासेको पश्चिमा देशहरुले थाहा पाउँछ । अमेरिकामा नयाँ कुरा पत्ता लगाएको नेपालले थाहा पाउँछ । अर्थात् विश्वले थाहा पाउँछ । नयाँ वर्षकै अवसरमा प्रविधिलाई सलाम । सायद प्रविधि नभएको भए युवापूस्ताहरुले सेलिब्रेट गर्ने तौरतरिका फरक हुन्थ्यो होला । जसका कारण नयाँ वर्षले यति व्यपकता पाउने थिएन् होला । हाम्रो बाउबाजेले यो स्वाद पाएनन् । कतिखेर नयाँ वर्ष गयो, कतिखेर आयो कामको धपेडीमा थाहै पाएनन् । ती पूस्तालाई प्रविधिले पनि छोएन् । नयाँ वर्षमा फिरन्ते देशहरुका नागरिक उति रम्दैनन् जति नेपालीहरु रम्न थालेका छन् । फिरन्ते देशहरुका नागरिकहरु मनोरञ्जन पनि सेड्युल अनुसार गर्छन् । तर, नेपालीहरु पाइला–पाइलामा मनोरञ्जन गर्न थालेका छन् । नयाँ वर्ष अग्रेजी होस् या नेपाली । पर्यटकीय क्षेत्रहरु भीडभाड देखिन्छ । चहलपहल देखिन्छ । आर्थिक चलखेल देखिन्छ । बाहानाबाजीमा खर्च गर्ने संस्कार बसिसकेको छ । ‘यस्तो बेला खर्च नगरे कुन बेला गर्ने’ भन्ने होडबाजीले व्यापकता पाउन थालेको छ । यही बाहानामा भए पनि नेपालका पर्यटकीय क्षेत्रहरु, धार्मिक क्षेत्रहरु भरिभराउ त हुन्छन् । नेपाली मात्रै हैन, भारतीय पर्यटकहरु नेपालमा आगमन हुन थालेको छ । नयाँ वर्षको अवसर लाग्ने उत्सव, मेला, महोत्सवले राम्रैसँग युवापूस्तालाई मनोरञ्जन प्रदान गरेको छ । नयाँ वर्षलाई स्वागत गर्न बित्दो वर्षको पूर्वसन्ध्यामा आजकाल ‘न्यु इयर इभ कन्सर्ट’ हुन थालेका छन् । यसलेसमेत त्यस्ता बाहाना खोज्नेको लागि अतुलनीय योगदान पुर्याएकै छ । युवा पूस्ताहरु रकिङशैली मन पराउँछन् ।
त्यसैले त उनीहरु त्यस्ता कार्यक्रमहरुमा भरिभराउ हुन्छन् । मनोरञ्जनको शैलीसमेत फरक छ । रमाउने र दुखित बन्ने युवापूस्ताको कुनै सीमाना छैन्, बन्देज छैन् । कतिखेर खुसी हुन्छन्, कतिखेर दुखित त्यो पत्तै पाउँन सकिदैन् । खुसी र दुःखी हुन कुनै नाटक मञ्चन गरिरहनु पर्दैन् । बाइबाई २०१६ भन्नको लागि यसपटक धरानको पब्लिक उच्चमाविको मैदानमा न्यु इयर इभ कन्सर्ट जम्यो । त्यसलाई सिल्भर इन्टरटेनमेन्टले अवसर जुराइदियो । जसमा रोविन एण्ड द न्यु रेभुलेसन, इन्दिरा जोसी, स्थानीय व्याण्ड द आउटसाइडर व्याण्ड र बबिन लिम्बूका प्रस्तुतीहरु रहे ।
जसले युवापूस्तालाई खुव मनोरञ्जन दियो । यस्ता मनोरञ्जनका पारखीहरु धरानमा चोकै पिच्छे पाइन्छन् । अझ सांगीतिक कन्सर्ट त धरानेको लागि नौलो हुँदै होइन् । यहीका कतिपय कलाकारहरु जो राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका छन् । त्यस्ता कलाकारसँग नजिकबाट परिचित धरानेहरु संगीत भनेपछि हुरुक्कै हुन्छन् । त्यसमा पनि युवापूस्ता बढी लालायित हुन्छन् । नयाँ पूस्तामा जोस् छ जागर छ केही गर्ने लक्ष्य छ । प्रविधिसँग भिजेर उनीहरु संसारलाई चिर्न चाहान्छन् । ६० को दशकदेखि नेपाली माझ प्रविधिको ह्वात्तै विकास भयो । त्यही विकासलाई पछ्याउँदै छन् युवापूस्ताहरु । नयाँ दिन, नयाँ जीवन, र नयाँ यात्राको रुपमा लिन्छन् उनीहरु नयाँ वर्षलाई । मोडल रेखा फागो फेसबुकमा लेख्छिन्, ‘नयाँ दिन, नयाँ जीवन र नयाँ यात्रालाई खेर नफाल ।’ अधिकांस युवा पुस्ताको केही न केही कार्यक्रम त हुन्छ नै यो बेला ।
अझ रोमान्टिक मुडमा नयाँ वर्षलाई सेलिब्रेट गर्न खोज्छन् । पर्यटकीय नगरी भेडेटार नयाँ वर्षले भरिन्छ । अझ पाँचौं भेडेटार फुड फेष्टिभलले नयाँ वर्षको बाहानालाई जोडिदिन्छ । पाँचदिनसम्म चल्ने फेष्टिभलले नयाँ वर्षको सम्बन्धलाई अझ प्रगाढ बनाइदिन्छ । हरेक वर्षको यसैबेला सुरु हुने यो फेष्टिभलमा भारत बिहारसम्मका पर्यटकहरुको आगमन हुन्छ । नयाँ वर्ष सेलिब्रेट गर्न आइपुगेका भारतीय पर्यटकहरुलाई यो फेष्टिभल बाहाना भइदिन्छ ।नयाँ वर्षलाई लक्षित गरेरै फुडफेष्टिभल लाग्ने गरेको होटल एसोसिएन अफ भेडेटारका अध्यक्ष लिलाराज लावती बताउँछन् । यही बाहानामा लगभग १ लाख भन्दा बढीले अवलोकन गर्ने गरेको उनको दाबी छ । न्यु इयरलाई लक्षित गरेर धरानमा धेरै कार्यक्रमहरु बन्ने गरेका छन् । युवापुस्ताको लागि सन् २०१७ फलदायी बनोस् शुभकामना ।