[caption id="attachment_22823" align="aligncenter" width="830"]4G-ntc-2 तस्विर अनलाइनखबरबाट[/caption]

काठमाडौं/नेपाल टेलिकमले पछिल्लो समयमा विकसित प्रविधि चौथो पुस्ता (फोरजी) लङ्टर्म इभोलुसन (एलटीई) मोवाइल सेवा आजदेखि सञ्चालनमा ल्याएको छ ।टेलिकमले हालको तेस्रो पुस्ता थ्रीजी सेवालाई विस्थापन गर्दै ताररहित थ्रीजीको विकसित प्रविधि फोरजी काठमाडौं उपत्यका र पोखराको सीमित क्षेत्रमा सञ्चालनमा ल्याएको छ ।फोरजी सेवाको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले एक समारोहबीच आइतबार शुभारम्भ गरे । नेपाल टेलिकमले ल्याएको फोरजी एलटीई सेवा हाललाई जीएसएम पोष्टपेड मोवाइलमा मात्र सञ्चालनमा ल्याएको वायरलेस निर्देशनालयका निर्देशक पशुपतिलाल थापाले बताए ।

यो सेवाबाट काठमाडौं उपत्यका र पोखरा गरी साढे ३ लाख ग्राहक प्रभावित हुनेछन् ।टेलिकमले आउदो माघ २२ गतेदेखि मात्र जीएसएम प्रिपेडमा पनि फोरजी एलटीई सेवा उपलब्ध गराउने थापाले जानकारी दिए । विस्तारै यो सेवालाई देशभरी विस्तार गर्ने योजना रहेको सो अवसरमा थापाले सुनाए ।फोरजी एलटीई सेवा काठमाडौंको रिङरोड भित्र, गोकर्ण रिसोर्टका साथै ललितपुरको गोदावरीसम्म र भक्तपुरका सीमित क्षेत्रमा सञ्चालनमा आएको थापाले जानकारी दिए ।उनका अनुसार टेलिकमले राजधानीमा ३०८ वेस टावर स्टेशन (बीटीएस) र पोखरामा २५ बीटीएसबाट यो सेवा प्रदान गरेको छ । एउटा बीटीएसबाट ९ सय मोवाइल सञ्चालन हुन्छ । यस्तै पोखराको न्युरोड, लेकसाइड र महेन्द्रपुलमा फोरजी एलइटी सेवा सञ्चालन हुने उनले बताए ।

 हालको थ्रीजीको तुलनामा फोरजी सेवा उच्च गतिमा सञ्चालन हुनेछ ।फोरजी ३२.४ एमबीपीएससम्म डाउनलोड स्पिड प्रदान गर्न सक्ने नेटवर्कमा सञ्चालनमा ल्याएको सो अवसरमा जानकारी दिइयो । हाल ५ मेगाहर्जबाट सो सेवा सञ्चालन भएको छ । नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले थप ५ मेगाहर्ज दिने भएपछि यसको क्षमता बढेर १ सय एमबीपीएस हुने उनले जानकारी दिए । थापाका अनुसार हाल थ्रीजीको मूल्यमा फोरजी सेवा दिइएको छ । एक एमबीलाई १ रुपैयाँ लिने उनले जानकारी दिए ।फोरजी सेवा सबै एन्ड्रोइड र आइएफोन ५ एस माथिका मोवाइल सेटमा सञ्चालन हुनेछ । युनिभर्सल (यूसीम) मा मात्र यो सेवा सञ्चालन गर्न सकिने टेलिकमले जानाएको छ । ५० रुपैयाँमा नयाँ युसीम पाइने पनि सो अवसरमा जानकारी दिइयो । थ्रीजीमा एचएच प्लस संकेत देखिने गरेकोमा फोरजीमा मोवाइलको सेटअनुसार यसमा फोरजी वा एलटीई संकेत दिनेछ ।

यो सेवा स्टार ४४४ ह्यास थिचेपछि एक्टिभेट गर्न सकिने टेलिकमले जनाएको छ । फोरजी एलटीई सेवा विश्वका ३५० भन्दा बढी सेवा प्रदायकले उपलब्ध गराइसकेका छन् ।फोरजी प्रयोगबाट द्रुतगतिमा इन्टरनेट सेवा, भिडियो कलका अतिरिक्त ठूला भिडियो फाइलहरु अपलोड र डाउनलोड गर्न सहज हुनेछ । विश्व बजारमा फोरजी सेवा ७ वर्षअघिदेखि सुरु भएको हो । विकसित मुलुकमा सन् २०१० देखि यो प्रविधि सञ्चालनमा आएको हो ।

७ वर्षपछि नेपाल टेलिकमले यसलाई सञ्चालनमा ल्याउँदैछ । निजी क्षेत्रको बहुराष्ट्रिय मोवाइल सेवा प्रदायक एनसेलले भने नेपाल दुरसञ्चार प्राधिकरणबाट फोरजी सेवा सञ्चालनको अनुमति पाएको छैन ।नियामक निकाय प्राधिकरणले अन्तिम स्वीकृति दिएपछि फोरजी सञ्चालनमा ल्याउन लागेको नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । टेलिकमले फोरजी सञ्चालनका लागि प्रणाली अद्यावधिक, प्रविधि जडान र परीक्षण सम्पन्न गरेकाले आज आइतबारदेखि फोरजी सेवा दिन लागेको उनले जानकारी दिइन् । थ्रीजीको तुलनामा फोरजीको शुल्क केही महंगो हुनेछ । हाल  टेलिकमले थ्रीजीको महशुल दर प्रतिएमबी १ रुपैयाँ लिँदै आएको छ । नेपाल सार्क मुलुकमा सबैभन्दा पहिला थ्रीजी सेवा भित्र्याउन सफल भएकोमा फोरजीमा ढिलाइ भएको छ । टेलिकमले पछिल्लो समयमा ल्याएको थ्रीजी सेवा प्रभावकारी भएपछि यसलाई सुदृढ गरी अत्याधुनिक फोरजी सेवा सञ्चालनमा ल्याएको हो । फोरजी / एलटीई भनेको के हो ? लङटर्म इभोलुसन प्रविधिमा आधारित चौथो पुस्ता (जीफोर) को मोवाइल इन्टरनेट सेवा हो । जीफोर एलटीई प्रविधिबाट उच्च गतिको इन्टरनेट सेवा प्राप्त हुनुका साथै उच्च गुणस्तरिय श्रव्यदृष्य सामग्रीलगायत बढी व्यान्डविथ आवश्यक हुने इन्टरनेट सामग्री सजिलै हेर्न र सुन्न सकिनेछ । यो आफ्नो मोवाइल फोनबाट स्टार ४४४ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार सीम परीक्षण तथा जीफोर एलटीई सेवा सुचारु गर्न सकिनेछ । यसको महशुल दर केही समयका लागि थ्रीजी बराबर राखिएको छ ।   १२खरीबाट