भद्रपुर/भद्रपुर वितरण केन्द्रले २४ दिनमा विद्युत चोरी गर्ने १ सय ३१ जनालाई कार्वाही गरेको छ । प्राधिकरणले देशभरका क्षेत्रीय तथा जिल्लाका केन्द्रहरुलाई विद्युत चोरी नियन्त्रण अभियानलाई तिव्रता दिने निर्देशन जारी गरेलगतै नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रले विद्युत चोरी नियन्त्रण अभियानको क्रममा उनिहरु कारवाहीमा परेका हुन् ।
विद्युत चुहावट नियन्त्रणतर्फ पोलबाट हुकिङ्ग गर्ने १ सय १७ जना र मिटरबाट चोरी गर्ने १४ जनालाई कार्वाही गरेको केन्द्रको चुहावट नियन्त्रण शाखाका कर्मचारी केशर कुमार बानियाले जानकारी दिए । उनीहरुले विद्युत चुहावटमा प्रयोग गर्ने टिभी, पानी तान्ने मोटर, पंखा, डिस्क, तार लगायत २२ थान उपकरण समेत बरामद गरेको कर्मचारी बानियाले बताए । पोलबाट हुकिङ्ग गर्ने पक्राउ परेका व्यक्तिबाट ५ लाख ६६ हजार ५ सय रुपैया र मिटरबाट चोरी गर्ने व्यीक्तबाट २ लाख १९ हजार राजश्व असुल उपर गरिएको उनको भनाई छ ।भद्रपुर वितरण केन्द्रबाट २० प्रतिशत विद्युत युनिट चुहावट हुने गरेको तथ्याङ्कको आधारमा चुहावट नियन्त्रण अभियानलाई तिव्रता दिएको भद्रपुर वितरण केन्द्र प्रमुख रोशन खडकाले बताए ।
मसिर १९देखि पुस १३ गते सम्म विद्युतका कर्मचारी, प्रहरीसहितको टोलीले छडके अनुगमनको क्रममा हालसम्म १ सय ३१ जना पक्राउ गरिएको केन्द्र प्रमुख खड्काको भनाई छ ।हुकिङ्ग गर्ने व्यक्तिबाट न्युनत ३ हजारदेखि अधिकतम ५ हजारसम्म र मिटरबाट चोरी गर्ने व्यक्तिबाट ५ हजारदेखि ३३ हजार सम्म राजश्व उसुलउपर गर्ने प्राधिकरणको नियम अनुसार उनीहरुलाई कार्वाही गरिएको उनले जनाए ।
भद्रपुर वितरण केन्द्रले पैसा नबुझाउने ग्राहकहरुको विद्युत सेवा कटौती गर्ने अभियानलाई पनि सगसगै तिव्रता दिएको उनले बताए । चालु आर्थिक बर्षमा पैसा नतिर्ने २ सय ५८ जनाको सेवा कटौती गरेको र उनीहरुबाट प्राधिकरणले ८१ लाख ३१ हजार ५ सय २७ रुपैया राजश्व उठाएको जनाए । भद्रपुर केन्द्रमा १७ गाविस २ नगरपालिका गरी करिव ४३ हजार ग्राहक आवद्ध छन् । झापाको उत्तर र दक्षिणी गाविस क्षेत्रमा बढी विद्युत चोरी हुने गरेकोले केन्द्रले सोही क्षेत्रमा छडके अनुगमनलाई बढी तिव्रता दिदै आएको छ ।