विजयपुर/ यही माघ २२ गते धरानमा हुन लागेको ‘प्रथम मुन्धुम साँझ’ को तयारी तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ ।धरानमा पहिलोपटक सुगम सङ्गीत र कविता एउटै मञ्चबाट प्रस्तुत हुने आयोजकले जनाएको छ । मुन्धुम बुटिक एन्ड मेख्ली हाउसको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
मुन्धुम साँझमा गणेश रसिकका गीत तथा कवि उपेन्द्र सुब्बाका कविताहरू प्रस्तुत गरिने आयोजक हाउसकी सञ्चालिका मुनु मिभकले जानकारी दिइन् । गायक तथा सङ्गीतकार रसिक तथा कवि सुब्बाका साथमा स्थानीय कलाकार सुनिता लिम्बूको पनि प्रस्तुति रहने उनले जनाइन् । धरान–१५ स्थित चुम्लुङ हिममा आयोजना हुने कार्यक्रममा ‘हामी साथीसाथी’ टिमको पनि सहकार्य छ । टिमका गायक सुमन श्रेष्ठले गीत र कविता एकै ठाउँमा प्रस्तुत गर्न लागिएको यो पहिलो कार्यक्रम भएको बताए । ‘यसले गीत–सङ्गीतलाई माया गर्ने धराने र साहित्यप्रेमी धरानलाई एक सूत्रमा बाँध्न सहयोग पुग्ने छ ।’ श्रेष्ठले भने ।