काठमाडौं/चेलीबेटी बेचविखनको जालो भक्तपुरसम्म फैलिएको पाइएको छ। उक्त जालोले महिलाहरुलाई आकर्षक कमाई हुने काम दिलाइदिने प्रलोभन दिएर भारतका विभिन्न सहरमा लगेर बिक्री गर्ने गरेको तथ्य खुलेको हो ।
उक्त जालोका सदस्यले चेलीबेटीलाई रोजगारीको नाउँमा दुई चरणमा भारतका नयाँदिल्ली, मुम्बईलगायतका सहरमा पुर्याउने गरेका छन् ।
पहिलो चरणमा भक्तपुरमा रहेका उक्त जालोका सदस्यले यहाँका चेलीबेटीलाई भारतसँग सीमा जोडिएका नेपालका सहरसम्म पुर्याउने गर्छन् । आफ्नो त्यहाँ काम दिने कम्पनीका एजेन्ट भनी परिचय दिएर ती महिलालाई जालोकै सदस्यहरुको सम्पर्कमा पठाउँछन् ।
सीमा जोडिएका सहरमा बसेका जालोका सदस्यहरुले भने आफ्नो सम्पर्कमा आएका चेलीबेटीलाई भारत प्रवेश गराएर भारतस्थित जालोका सदस्यहरुसम्म पुर्याइदिन्छन् । नेपाल र भारतको सीमा नाका कटेपछि चेलीबेटीहरुलाई रेल चढाएर भारतस्थित जालोका सदस्यहरुलाई रोजगारी दिने कम्पनीका मान्छे भनी पठाउँछन् । आजको
अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
यसरी नेपाल र भारतको सीमा नाका कटाएर भारतीय सदस्इहरुसम्म पुर्याएवापत दोस्रो चरणका सदस्यहरुले प्रतिमहिला दुई हजारदेखि आठहजार रुपैयाँसम्म भारतीय रुपैयाँ पाउँछन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरले उक्त जालोको एक सदस्य नियन्त्रणमा लिएपछि उक्त तथ्य खुलेको हो । भक्तपुर प्रहरीले पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका छपकैया बस्ने ३३ वर्षीय बलराम महत्तोलाई पक्राउ गरी गरेको अनुसन्धानको क्रममा काम दिलाइदिने प्रलोभनमा भक्तपुरबाट पनि चेलीबेटी बेचविखन हुने गरेको तत्य बाहिर आएको हो ।