धरान/छोटो समयमा ह्वात्तै विकास भएको सेल्फी युवापूस्ताको लागि ‘काल’ बनिरहेको तथ्याङ्कबाट प्रष्टिन्छ । मुख चुच्चो पारेर, विभिन्न शारीरिक हाउभाउ देखाएर फोटो खिच्दै सामाजिक सञ्जालमा हाल्ने होडबाजीका कारण सेल्फी युवापुस्ताको लागि खतराको घण्टी बनिरहेको हो । [caption id="attachment_27538" align="alignnone" width="652"] फाइल तस्बिर[/caption] जसरी ट्वीटरले सन् २०१४ लाई सेल्फीवर्षको रुपमा घोषणा गर्यो । त्यहीवर्षबाट ह्वात्तै विकास भएको सेल्फी युवापुस्ताको लागि अनाहकमा ज्यान गुमाउने मेलो बन्न थालेको छ । त्यसो त बेलायतले सेल्फी विषयलाई विश्वविद्यालयमा अध्यायन गराउन थालिसकेको छ । सुरक्षित तवरबाट गरिने हो भने प्रविधिसँग जोडिएका युवपूस्ताले अनाहकमा ज्यान गुमाउनु पर्दैन । तर, सेल्फी पागलपनका कारण नै धेरै युवाहरुको ज्यान जाने मेलो बन्ने गरेको हो । सन् २०१५ मा वासिङ्टन पोष्टले दिएको आकँडा अनुसार वर्षभरी २७ जनाले सेल्फीको कारण मृत्युवरण हुन पुगेको देखिन्छ । यो दर सबैभन्दा बढी भारतमा रहेको पोष्टले सार्वजनिक गरेको थियो । केही दिन अघिको उदाहरण नै हेरे पुग्छ । गत शनिबार अपरान्ह भारतको रेल्वेट्रयाकमा सेल्फी लिने क्रममा यसकुमार र शुभम नाम गरेका दुई युवाहरुको ज्यान गयो । यो दर भारतमा जति छ त्यति नै अन्य देशहरुमा पनि बढ्दो क्रममा रहेको वासिङ्टन पोष्टले तथ्याङ्कले देखाएको छ । नेपालमै पनि सन् २०१६ मार्च ३ तारिखका दिन सेल्फी खिच्ने क्रममा नारायणी नदीमा डुवेर नवलपरासी गैडाकोट–१६ की १९ वर्षीय स्मीता ज्ञवालीको मृत्य भयो । सेल्फी खिच्न गएका मध्ये सोही ठाउँकी १८ वर्षीय नम्रता सापकोटालाई प्रहरीले तत्कालै उद्दार गर्यो । तर, ज्ञवाली नदीमा वेपत्ता भएकाले केही दिनपछि मात्रै उनको शव नारायणी नदीमा फेला पारेको थियो । उनीहरु अरोमा कलेज भरतपुरमा अध्ययरत थिए । यस्ता उदाहरणका फेहरिस्त भेटिन्छ अहिले । सेल्फी युवापूस्तामा जति चर्चित छ त्यति नै उनीहरुको लागि खतराको घण्टीसमेत बनिरहेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा फोटो अपलोड गर्ने धाउन्नका कारण पनि उनीहरु कस्तो स्थानमा सेल्फी गरिरहेको छु भन्ने पत्तै पाउँदैनन् । जसका कारण अनाहकमा ज्यान गुमाउने गरेका छन् । गत असोज १५ गते सेल्फी खिच्ने क्रममा ढुंगामा चिप्लिएर लमजुङ ढोडेनी–२, स्थित गैरी भएर बग्ने दोर्दीखोलामा गोरखा मनकामना–३ का १९ वर्षीय पवन श्रेष्ठलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार उनी सेल्फी खिच्ने क्रममा चिप्लिएर खोलाले बगाएको थियो । सेल्फीका कारण अचम्म अचम्मलाग्दा घटनाहरु भएका छन् पछिल्लो समय । सन् २०१५ को सेप्टेम्बरमा ह्युष्टनका १९ वर्षीय डेलेयन एलोन्सो स्मिथको सेल्फी खिच्ने क्रममा मृत्यु भएको थियो । उनले कन्चटमा बन्दुक राखेर सेल्फी लिने क्रममा अचानक बन्दुक पड्किएर मृत्यु भएको थियो । सेल्फी जसरी युवापूस्ताको ‘नसा’ बनिरहेको छ । त्यसरी नै उनीहरुकै लागि काल बनिरहेको छ । माथिको उदाहरणले पनि सेल्फी खिच्दा सामान्य सावधानी नअपनाउँदाको परिणाम मृत्यु उपहार प्राप्त गरिरहेको देखाउँछ । सन् २०१४ मा सेल्फी खिच्ने क्रममा १८ जनाको मृत्यु भएको थियो । त्यो हरेक वर्ष बढिरहेको छ । मृत्यु हुनेमा १८ देखि २२ वर्ष उमेर समूहका बढी भएको तथ्याङ्कले देखाउँछ । सेल्फी खिच्ने धुनमा दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या हरेक वर्ष बढ्दो छ । यस अनुपातले पनि सेल्फी खिच्दा सावधानी नपनाएर कालको मुखमा पुगिने निश्चित छ । वासिङ्टन पोष्टले दिएको तथ्याङ्कले सन् २०१५ मा मृत्यु हुने २७ मध्ये आधाजसो भारतीय नै रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । सेल्फी सुरक्षाको दृष्टिमा भारत निकै खराब रहेको पोष्टले जनाएको छ । त्यसो त भारतले एकदर्जन बढी क्षेत्रहरुलाई सेल्फी निषेधित क्षेत्र घोषणा गरेको छ । सेल्फीका कारण सन् २०१५ मा कुन महिना कति मृत्यु जनवरीः जनवरीमा सेल्फी खिच्ने क्रममा ६ जनाको मृत्यु भएको थियो । जसमा दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित नर्थक्लिप पहाडमा एक युवतीको मृत्यु भएको थियो भने युराल पर्वतमा दुईजनाको मृत्यु भएको थियो । त्यस्तै रेल्वे लिकमा सेल्फी खिच्ने क्रममा तीनजना भारतीयको मृत्यु भएको थियो । मार्चः मार्चमा भारतमा मात्रै ७ जनाको मृत्यु सेल्फीका कारण भएको देखाएको छ । भारतको कुहीस्थित मनग्रुल तालमा नौका सयर गरिरहेको अवस्थामा ७ जना युवायुवतीको डुबेर मृत्यु भएको थियो । मेः मे महिनामा चारजनाको सेल्फी खिच्ने क्रममा मृत्यु भएको थियो । रोमानियामा रेलमाथि चढेर सेल्फी लिने क्रममा विजुलीको तारमा छोएर एक युवतीको मृत्यु भएको थियो भने रुसको रायाजन क्षेत्रको रेल्वे पुलमा सेल्फी खिच्ने क्रममा मृत्यु भएको थियो । त्यस्तै इण्डोनेसियाको योग्यकार्तामा सेल्फी लिनेक्रममा खसेर मृत्यु भएको थियो भने इण्डोनेसियाकै बालीमा समुन्द्रमा खसेर सिंगापुरे पर्यटकको मृत्यु भएको थियो । जुलाईः जुलाई महिनामा एकजनाको मृत्यु भएको थियो । जुन रुसको मस्को सहर नजिकैको पुलबाट सेल्फी लिने क्रममा एक युवतीको मृत्यु भएको थियो । अगष्टः अगष्ट महिनामा पनि एकजनाको मृत्यु भएको देखिन्छ । स्पेनमा साँढे दौडाउने मेलामा साँढेसँग सेल्फी लिँन खोज्दा एक युवाको मृत्यु भएको थियो । सेप्टेम्बरः सेल्फीका कारण सेप्टेम्बर महिनामा चारजनाको ज्यान गएको देखिन्छ । जसमा अमेरिकाको हष्टनमा कन्चटमा पेस्तोल ताकेर सेल्फी लिने क्रममा गोली लागेर मृत्यु भएको थियो । त्यस्तै भारतको ताजमहलमा सेल्फी लिने क्रममा सिढीबाट खसेर जापनी पर्यटकको मृत्यु भएको थियो । रुसमा नौ तले भवनमा झुण्डिएर सेल्फी लनिे क्रममा खसेर रुसी किशोरको मृत्यु भएको थियो । त्यस्तै भारतको तमिलनाडूमा ढुंगामाथि सेल्फी लिने हुँदा ढुंगा पल्टिएर एक युवकले ज्यान गुमाएका थिए । अक्टोवरः सेल्फी खिच्ने क्रममा अक्टोवरमा एकजनाको मृत्यु भएको देखिन्छ । जुन स्पेनको वार्सिलोनामा रेलको छतमा सेल्फी लिने क्रममा करेन्ट लागेर किशोरको मृत्यु भएको थियो । नोभेम्बरः नोभेम्बर महिनामा दुईजनाको मृत्यु भएको थियो । जसमा भारतका दुई विद्यार्थीहरुले सेल्फी लिने क्रममा नर्मदा नहरमा चिप्लिएर खसेर मृत्यु भएको थियो । डिसेम्बरः डिसेम्बर महिनामा एकजनाको मृत्यु भएको देखिन्छ । जसमा पाकिस्तानको रावलपिण्डीको रेल्वे ट्रयाकमा सेल्फी लिने क्रममा रेलको ठक्करबाट मृत्यु भएको थियो । स्रोतः विकिपेडिया