काठमाडौ/खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले खानेपानीको बक्यौता नतिर्ने मन्त्रालय , सरकारी कार्यालय, सरकारी संस्था र स्थानीय निकायमा नियमित आपूर्ति भइरहेको पानी बन्द गर्न निर्देशन दिएका छन् । ति निकायहरुको लामो समयदेखि खानेपानीको महशुल नतिरी बक्यौता रहेको पाइएपछि मन्त्री शाहीले त्यस्तो निर्देशन दिएका हुन् । मन्त्री शाहीले खानेपानी नियमित आपूर्ति भइरहे पनि कानून बमोजिमको सेवा शुल्क नतिरेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ( केयुकेएल) लाई धराशायी बनाउन खोजेको टिप्पणी गरे । त्यसबाट उठेको रकम त्यसैको मर्मत, निर्माणमा तथा व्यवस्थापनमा प्रयोग हुने भन्दै मन्त्री शाहीले उहाँहरुकै सहजीकरणका लागि उठाइएको रकम पनि तिर्नबाट पन्छिएर गैरजिम्मेवार बनेको आरोप लगाए । उनले पहिलो चरणमा लिखित रुपमा सबै निकायलाई खानेपानी बक्यौता तिर्न आग्रह गर्ने र त्यस्तो गर्दा पनि बक्यौता तिर्न नआए पानी आपूर्ति बन्द गरिदिनुपर्ने बताए साथै मन्त्री शाहीले खानेपानीको बक्यौता भुक्तानी गर्न बाँकि रहेका सबै निकायलाई बक्यौता भुक्तानी गर्नका लागि तत्काल पत्र काट्न समेत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिएका छन् । केयुकेएलले उठाउनु पर्ने बक्यौता रकम १ अरब ४३ करोड पुगेको छ । त्यो मध्ये सरकारी निकायबाट उठाउनुपर्ने बक्यौता रकम ४२ करोड ३१ लाख १९ हजार ४ सय १५ रुपैयाँ छ ।